कांग्रेस उपसभापतिको प्रश्न: सहकारी ठग नेता हुन्छ ?

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले सहकारीको रकम ठगी गर्ने नेता हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

प्रजातान्त्रिक विचार समाज मकवानपुरले बिहीबार हेटौंडामा आयोजना गरेको पुस्तक विमोचन तथा प्रजातान्त्रिक सेनानी सम्मान कार्यक्रमका प्रमुख अतिथि रहेका उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै जनताले सहकारीमा राखेको पैसा ठगेर खानेलाई नेता मान्न नसकिने बताए।

प्रजातन्त्र, लोकतन्त्र र मुलुकको परिवर्तनका लागि धेरै नेताहरुले रगत, पसिना बगाइरहँदा नेपाली नागरिकता त्यागेर विदेश बसेकाहरूले अहिले राजनीतिक सिकाउन थालेको उनको आरोप थियो।

‘व्यवस्था होइन प्रवृत्ति खराब भो। केही नेताहरू खराब भए’, पूर्वमन्त्री समेत रहेका गुरुङले भने, ‘यहाँ मज्जाले अर्कालाई गाली गरेपछि नेता हुने गलत प्रथाको विकास भएको छ।’

उनले नेपाली कांग्रेसबाट वडा अध्यक्षदेखि मन्त्री भएकाहरू सबैको सम्पत्ति छानबिन गर्न माग समेत गरे। ‘सम्पत्ति छानबिनको विषय महासमिति बैठकबाट पारित गरेको भए कोही सहकारी ठगदेखि डराउनै पर्थेन। तैले खाने मैले किन खान नपाउने भन्ने खालको तर्क आउन थालेको छ, कुनैपनि प्रकरणमा कांग्रेसका नेताहरू दोषी देखिन्छन् भने कारबाही भोग्न तयार छौं’, उनले भने।

कांग्रेसले अब मिसन २०८४ को ठाउँमा सुशासन र भ्रष्टाचार विरुद्धको अभियानलाई मिसन बनाउन जरुरी रहेको औंल्याए। जनताको मन जित्ने एजेण्डा बनाउँदै कार्यान्वयन गर्नु अहिलेको आवश्यक रहेको नेता गुरुङको भनाई थियो।

‘सुशासन र भ्रष्टाचार विरुद्धको मिसन बनाएर आफ्नै पार्टीको नेता भएपनि तुरुन्तै छानबिन र कारबाहीको माग गर्नु जरुरी छ’, उनले थपे, ‘अब इतिहास पढाएर कामै छैन। कांग्रेसका कोही नेता भ्रष्टाचारमा मुछिएको छ भने कार्यक्रममै नबोलाउनुहोस्। भ्रष्टाचारीको कुनै पार्टी हुँदैन। सके पार्टी र मुलुक सुधार्ने हो नसके राजनीति छोडौंला’, उनले भने।

कार्यक्रममा मकवानपुरका ५ जनालाई प्रजातान्त्रिक सेनानी सम्मान गरिएको थियो। सम्मानित हुनेमा अशोक श्रेष्ठ, यादवराज पराजुली, परमेश्वर भ्लोन, हरिनन्द खरेल र स्वर्गीय ईश्वरचन्द्र अग्रवाल रहेका छन्।

प्रजातान्त्रिक विचार समाज मकवानपुर अध्यक्ष डा. देवचन्द्र मानन्धरको अध्यक्ष समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, निवर्तमान अध्यक्ष डा. केदारनरसिंह केसी, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, कांग्रेस नेता आनन्दराम पराजुली लगायतले देशको वर्तमान अवस्था, कांग्रेसको भूमिका लगायतका विषयमा मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा समाजले प्रकाशन गरेको प्रजातान्त्रिक दर्पण पुस्तक समेत विमोचन गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *