सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिषा विकको मृत्यु प्रकरणमा जोडिएका तीन जना बालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतले बालसुधार गृहमा पठाउने गरी गरेको आदेशलाई सर्वोच्चले बदर गर्दै तीनै बालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले जिल्ला र उच्च अदालतका आदेश बदर गर्दै परिवर्तित नाम वीरेन्द्रनगर (ध), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई बाबु, आमा वा परिवारका जिम्मेवार व्यक्तिको जिम्मामा छाडेर मुद्दाको बाँकी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
यसअघि सुर्खेत जिल्ला अदालतले १७ चैत २०८२ मा थुनछेक आदेश जारी गर्दै उनीहरूलाई बालसुधार गृह पठाएको थियो । उक्त आदेशलाई उच्च अदालत सुर्खेतले पनि २४ वैशाख २०८३ मा सदर गरेपछि बालकहरूका तर्फबाट सर्वोच्च अदालतमा निवेदन परेको थियो ।
सर्वोच्चले उपलब्ध प्रमाण तथा अनुसन्धानबाट तत्काल बालसुधार गृहमा राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । आदेशमा अभियुक्त बालकहरूले प्रहरी तथा अदालतसमक्ष बयानका क्रममा आफूहरूमाथि लागेको आरोप अस्वीकार गरेको उल्लेख छ । घटनाका मुख्य आरोपीका रूपमा प्रस्तुत गरिएका परिवर्तित नाम वीरेन्द्रनगर (प) ले समेत उनीहरूलाई घटनामा संलग्न रहेको भनी बयानमा नपोलिएको अदालतले जनाएको छ ।
त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट गरिएको प्राविधिक विश्लेषण, फोन संवादको समय, ट्राफिक कार्यालय तथा कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन विभाग र प्रदेश आयुर्वेद अस्पतालका सीसीटीभी फुटेजसमेत अध्ययन गर्दा ती बालकहरू घटनापछि पीडित बेहोस अवस्थामा पुगेको समयमा उद्धार तथा सहयोगका लागि घटनास्थलमा पुगेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) को खण्ड (ख) अनुसार उनीहरूलाई पुर्पक्षका लागि बालसुधार गृहमा राखिरहनुपर्ने आधार पर्याप्त नरहेको अदालतको ठहर छ । सोही कानुनी व्यवस्थाका आधारमा बालकहरूलाई परिवारको जिम्मा लगाएर मुद्दाको कारबाही अघि बढाउन आदेश दिइएको हो ।
यद्यपि सर्वोच्चले उनीहरूलाई पूर्ण रूपमा मुद्दाबाट उन्मुक्ति दिएको भने होइन । मुद्दा टुंगो नलागेसम्म अदालतले बोलाएका बेला अनिवार्य रूपमा उपस्थित हुनुपर्ने र अदालतको अनुमति नलिई देशबाहिर जान नपाउने सर्त तोकिएको छ ।
इनिषाको मृत्यु प्रकरणसम्बन्धी मुद्दा भने सुर्खेत जिल्ला अदालतमा विचाराधीन नै छ । उनीमाथि जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढिरहेको छ ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ मा परिवारसँग बस्दै आएकी १६ वर्षीया इनिषा २३ फागुन २०८२ मा बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन् । बिहान करिब ९ बजेतिर उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
उद्धार गरी प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि प्रहरीले सोही दिन उनका प्रेमी भनिएका १६ वर्षीय नाबालक परिवर्तित नाम वीरेन्द्रनगर (प) लाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले थप तीन जना बालकलाई समेत नियन्त्रणमा लिएको थियो ।








