२०८३ मंसिर १२ , शनिबार
सम्पादकीय

राष्ट्रिय खेलकुदले कर्णालीको सम्भावना उजागर गरोस्



कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीको प्रतिस्पर्धा र पदक जित्ने अवसरमा मात्र सीमित छैन । यो कर्णालीको खेलकुद क्षमता, पूर्वाधार, पर्यटन र समग्र पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने महत्वपूर्ण अवसर पनि हो । लामो प्रतीक्षापछि कर्णालीमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनु आफैँमा उपलब्धि हो । तर यसको वास्तविक सफलता प्रतियोगिता सम्पन्न हुनुमा मात्र नभई यसले प्रदेशको खेलकुद क्षेत्रमा कस्तो दीर्घकालीन प्रभाव पार्छ भन्नेमा निर्भर रहनेछ । प्रतियोगिताका विभिन्न खेलमा देखिएको प्रतिस्पर्धाले खेलाडीको क्षमता र सम्भावना उजागर गरेको छ । क्रिकेटमा विभागीय टोलीको प्रभाव देखिँदा फुटबलमा आर्मीको निरन्तर जितले चर्चा पाएको छ । महिला बास्केटबलका दुई विधामा आठ टोली सेमिफाइनलमा पुग्नुले प्रतियोगिताको प्रतिस्पर्धात्मकता देखाएको छ । आयोजक कर्णालीका खेलाडीले पनि विभिन्न विधामा सहभागिता जनाउँदै आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । यद्यपि, प्रतियोगितामा सहभागिता र प्रतिस्पर्धासँगै स्थानीय खेलाडीको क्षमता विकासमा विशेष ध्यान दिन आवश्यक छ ।

राष्ट्रिय खेलकुद आयोजना गर्नु ठूलो अवसरसँगै चुनौती पनि हो । प्रतियोगिताका लागि निर्माण तथा मर्मत गरिएका खेल पूर्वाधारलाई प्रतियोगिता सकिएपछि प्रयोगविहीन हुन दिनु हुँदैन । ती संरचनालाई नियमित प्रशिक्षण, विद्यालयस्तरीय प्रतियोगिता र स्थानीय खेलकुद गतिविधिको केन्द्र बनाउनुपर्छ । खेलाडी उत्पादन गर्न प्रशिक्षक, प्रशिक्षण सामग्री, खेलमैदान र नियमित प्रतियोगिताको व्यवस्था अपरिहार्य छ । कर्णालीमा प्रतिभाको कमी छैन, तर अवसर, सुविधा र निरन्तर प्रशिक्षणको अभाव छ । ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभावान् खेलाडी पहिचान गर्ने कार्यक्रम सञ्चालन गर्न सके प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बलियो बनाउन सक्छ । यसका लागि प्रदेश र स्थानीय सरकारले बजेट, नीति तथा कार्यक्रममार्फत खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ ।

अर्कोतर्फ, ओलम्पिक टर्च तथा ट्रफी टुरले कर्णालीका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई राष्ट्रियस्तरमा चिनाउने अवसर प्रदान गरेको छ । श्रीस्थानबाट सुरु भएको टर्च टुरलाई खेलकुदसँगै पर्यटन प्रवद्र्धनसँग जोड्न सकिन्छ । अतः १०औँ राष्ट्रिय खेलकुदलाई औपचारिक कार्यक्रम र पदक वितरणमा मात्र सीमित नराखी कर्णालीको खेलकुद विकासको आधार बनाउनुपर्छ । प्रतियोगिताबाट प्राप्त अनुभव, पूर्वाधार र अवसरलाई संस्थागत गर्दै नयाँ पुस्तालाई खेलकुदमा आकर्षित गर्न सके मात्रै यसको सार्थकता पुष्टि हुनेछ ।

 

प्रकाशित मिति : २०८३ मंसिर १३ गते आइतबार