कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा रणनीति पछ्याउँदै काम गरिएको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना २०७९–०८७ को उद्देश्य पूरा गर्नेगरी काम भईरहेको सरोकारवालाले बताएका छन् ।
रणनीतिको मध्यमकालिन समयमा भएको समीक्षालाई आधार मानेर सरोरकारवालाहरुले यो क्षेत्रमा कर्णालीमा उल्लेख्य प्रगति भएका धारणा राखेका छन् । कर्णाली प्रदेश सरकारले पछिल्ला वर्षहरुमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाको पहुँच विस्तार पनि विस्तार गरेको दावी गरेको छ । मानसिक स्वास्थ्य रणनीतिमार्फत कर्णालीले मानसिक स्वास्थ्य क्षेत्रमा उपचारात्मक सेवालाई विस्तार गरेको दावी गरेको छ ।

कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर सुशिल समदर्शीका अनुसार हालसम्म कर्णाली प्रदेशभर ३३ वटा अस्पतालसहित १८७ वटा स्वास्थ्य संस्थाबाट मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा काम भइरहेको छ । यीमध्ये धेरैजसो सेवाप्रदायक संस्थाहरुमा आवश्यकता अनुसार जनशक्ति पदपूर्ति गरिएको उनले दावी गरे । यसले दुर्गम गाउँसम्म मानसिक स्वास्थ्य सेवा पुर्याउने बाटो खुलेको उनले बताए ।
उनका अनुसार मानसिक स्वास्थ्य तथा मनोसामजिक क्षेत्रको सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई तालिम दिने कामलाई प्राथमिकतामा राखिएको छ । हालसम्म २७६ स्वास्थ्यकर्मीले मानसिक स्वास्थ्यसम्बन्धि विशेष तालिम पाइसकेका छन भने ७७ स्वास्थ्यकर्मीले आधारभूत मनोसामाजिक सहयोगसम्बन्धि तालिम लिएका छन् । यसले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमै सामान्य मानसिक समस्या समाधान गर्ने वातावरण निर्माण गरिएको डा. समदर्शीले बताए ।
‘मानसिक स्वास्थ्यलाई विद्यालयस्तरमै प्रवद्र्धन गर्ने प्रयास पनि जारी छ, अहिलेसम्म १८४ विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरेर विद्यार्थीलाई सचेत गर्ने र शिक्षकलाई अभिमुखीकरण गर्ने काम भभएको छ,’ डा. समदर्शीले भने, ॅयसले बालबालिकाको प्रारम्भिक अवस्थादेखि नै मानसिक स्वास्थ्यप्रति सचेतना बढाएको देखिन्छ ।’
उनका अनुसार प्रदेशले मानसिक स्वास्थ्यसम्बन्धि २८ भन्दा बढी सूचना तथा सञ्चार सामग्रीहरुको विकास गरेको छ । पर्चा, पोस्टर, रेडियो जिङ्गल र भिडियोमार्फत समुदायलाई मानसिक स्वास्थ्यप्रति सचेत पार्ने काम भइरहेको उनले बताए । आत्महत्या रोकथाम अभियानलाई समेत प्राथमिकतामा राखिएको उनले बताए । यही विषयमा कर्णालीका अधिकांश स्थानीय तहमा अभिमुखीकरण कार्यक्रमहरु गरिएको उनले बताए ।
कर्णालीका भौगोलिक कठिनाई भएको क्षेत्रमा टेलिमेडिसिनमार्फत मानसिक स्वास्थ्यबारे सेवा दिईएको छ । यो विधिबाट हालसम्म २७२ जनाले विशेषज्ञ मानसिक स्वास्थ्य सेवा लिएका छन् । यसले दुर्गम क्षेत्रका नागरिकलाई यस्तो सेवा लिन ठूला सहर धाउनुपर्ने बाध्यता कम भएको छ ।
कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यमा समुदायको सहभागितालाई मजबुत बनाउन ४९ वटा स्वावलम्बन समूह गठन गरिएको जनाएको छ । यी समूहले गाउँ–बस्तीमा मानसिक स्वास्थ्यसम्बन्धि चेतना फैलाउने, समस्या देखिएका व्यक्तिलाई स्वास्थ्य संस्थासम्म पुर्याउने र आत्मनिर्भर बनाउन मद्दत गरेको सामाजिक विकास मन्त्रालयका मानसिक स्वास्थ्य फोकल पर्सन खगेन्द्र गैरेले बताए ।
सिमित पूर्वाधार र जनशक्ति अभावका बीच कर्णालीमा मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको डा. समदर्शी बताउँछन् । मानसिक स्वास्थ्यसम्बन्धि रणनीति बनेर कार्यान्वयनमा आएसँगै कर्णालीमा मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको संख्या पनि बढेको उनले बताए ।
प्रदेश सरकारले मानसिक स्वास्थ्य सेवालाई दीगो र निरन्तर प्रणालीमा रुपान्तरण गर्ने लक्ष्यका साथ मानसिक स्वास्थ्य रणनीति बनाएर कार्यान्वयन गरिरहेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । सबै वर्गलाई समान, सहज र निःशुल्क सेवा दिने, विद्यालयदेखि समुदायसम्म सचेतना कार्यक्रम विस्तार गर्ने र प्रविधिको प्रयोगलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । समुदायस्तरमै उपचारात्मक पद्धतिको योजना सरकारले अघि सारिरहेको उनको भनाई छ । मानसिक स्वास्थ्यका क्षेत्रमा सरकार एक्लैले मात्र गर्न नसक्ने भएकाले सम्बन्धित क्षेत्रमा गैरसरकारी संस्थाहरुले सरकारसँग सहकार्य गर्नुपर्ने उनले औंल्याए ।
प्रदेश सरकारले रणनीति बनाएर अघि बढेको भएपनि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न थुप्रै चुनौती झेल्नु परेको मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था सिएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले बताए । उनले आकस्मिक वा विपदजन्य अवस्थामा मानसिक स्वास्थ्यका लागि छुट्टै बजेट विनियोजन गर्ने कार्य धेरैजसो स्थानीय तहले गर्न नसकेको बताए । नियमित अनुगमन र मूल्याङ्कन प्रणाली अझै कमजोर भएकाले सेवा गुणस्तरीय बनाउन कठिनाई भइरहेको गैर बताउँछन् ।
मानसिक स्वास्थ्य मानवअधिकारसँग जोडिएको विषय भएकाले यसलाई नजरअन्दाज गर्न नुहने अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी बताउँछन् । पछिल्लो समय परिवारका सदस्यबाट हत्या जस्ता घटनाहरु बढेको उल्लेख गर्दै उनले अधिकांश यस्ता घटना मानसिक स्वास्थ्यसँग जोडिएको बताए । यसको बारेमा अध्ययन हुन नसक्नुले समस्या समाधानउन्मुख हुन नसकेको उनको भनाई छ ।

सरकारले स्वास्थ्यका क्षेत्रमा धेरै नीति तथा कार्यक्रम घोषणा गरेपनि अनुगमन र मूल्यांकन प्रभावकारी रुपमा नहुँदा उपलब्धि हासिल हुन नसकेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले बताईन् । उनका अनुसार मानसिक स्वास्थ्य समस्या सुर्खेत, रुकुम पश्चिम, दैलेख र सल्यान जिल्लामा बढी छ ।
कर्णालीमा शारीरिक समस्या र पुरातनवादी मान्यताका कारण मानसिक समस्या बढिरहेको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका आयुर्वेद चिकित्सक डाक्टर शंकर रिजाल बताउँछन् ।
Leave a Reply