वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ।

महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो। महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए। ‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ’ उनले भने।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकोमा त्यो प्राप्त गर्न कठिन हुने बताए।

‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार मात्रै सम्पत्ति कर (मालपोत) कर उठेको छ’, उनले भने, ‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ।’

महानगरले २४ शीर्षकमा आन्तरिक राजस्ववापत आम्दानी गर्दै आइरहेको छ। महानगरले यस वर्ष घर बहाल करवापत चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने करवापत भने दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ।

महानगरले बहाल करतर्फ तीन करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत दुई करोड ४१ लख ४३ हजार, नक्सा पास दस्तुर दुई करोड ९२ लाख ४ हजार उठाएको छ। गत आवमा ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन भएको थियो। –रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *