
Category: Today’s Newspaper
-

मानव सेवा आश्रमको भवन शिलान्यास

सुर्खेतको वीरेन्द्रनगरमा साढे दुई करोडको लागतमा निर्माण हुन लागेको मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
उक्त भवन बनाउनका लागि यो वर्ष प्रदेश सरकारले १ करोड ५० लाख रकम विनियोजन गरेको छ । मानव सेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा सामुदायिक सहभागिता र सहयोगका लागि मुख्यमन्त्री कँडेलले आग्रह गरे । मानव सेवा स्थल निर्माणले सामाजिक सदभाव र एकता कायम राख्ने उनले बताए ।
सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको बताउँदै कर्णालीको भूगोल अनुरुप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताए । यसका लागि कर्णाली प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । सरकारी घोषणालाई कार्यान्वयन गर्न एउटा मात्र संस्थामा भर पर्न नहुने उनले बताए ।
मानव सेवा आश्रम कर्णाली विकास समितिका संयोजक डा. नवराज केसीले भवन निर्माणको लागि महायज्ञमार्फत दान सङ्कलन गरिएकोले यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको औंल्याए ।















