काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत रहेको टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट बिहीबारदेखि सिक्का बिक्री थालेको हो।तिहारमा धनतेरस तथा लक्ष्मीपूजाका अवसरमा सुनचाँदीका सिक्का खरिद गर्ने परम्परा रहेकाले सिक्का किन्न सर्वसाधारण बिहानैदेखि बबरमहलस्थित टक्सार महाशाखा पुगेका छन्। सिक्का खरिदका लागि कार्यालय परिसरमा ग्राहकहरूको लामो लाइन लागेको छ।
टक्सार महाशाखाका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी खरिद गर्न पाइने व्यवस्था गरिएको छ। त्यसैगरी १० ग्रामका लक्ष्मी र गणेशको आकृति अंकित चाँदीका मेडालियन पनि बिक्री भइरहेको छ। महाशाखाले एक व्यक्तिले बढीमा दुई थानसम्म चाँदीका मेडालियन खरिद गर्न सक्ने व्यवस्था गरेको छ।
तिहारको धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको सुनचाँदीका सिक्का खरिद गर्ने परम्पराका कारण हरेक वर्ष राष्ट्र बैंकबाट बिक्री हुने असर्फी तथा मेडालियनप्रति सर्वसाधारणको आकर्षण रहने गरेको छ। यस वर्ष पनि सिक्का खरिद गर्न बिहानैदेखि उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ।








