काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिने क्रममा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटका क्रममा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विभिन्न पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा भारतीय विदेश सचिव मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा आपसी समझदारी विस्तार गर्ने दृष्टिले यस भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।








