२०८३ कात्तिक १९ , बिहीबार

जनकपुरले टस जितेर लुम्बिनीलाई दियो ब्याटिङको निम्तो



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।

जनकपुरले साविक विजेता लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएको हो। लुम्बिनी यस सिजन उत्कृष्ट लयमा देखिएको छ। तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनी यस सिजन हालसम्म अपराजित रहने एक्लो टोलीसमेत हो। \

यता, पहिलो संस्करणको विजेता जनकपुरले चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको छ। आजको खेलका लागि लुम्बिनीले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। अभिषेक गौतमको स्थानमा दिलीप नाथलाई पहिलो रोजाइमा समावेश गरिएको छ।

त्यस्तै, जनकपुरले दुई खेलाडी परिवर्तन गरेको छ। अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परभेज हुसेन इमोनले पहिलो रोजाइमा खेल्ने भएका छन्। मोइन अली भने एनपीएलका सुरुवाती चार खेल खेलेपछि अबुधाबी टी–१० लिगमा सहभागी हुन गइसकेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार