२०८३ कात्तिक १९ , बिहीबार

तिहारपछि आफ्नै गाउँ फर्किने तयारीमा टिमुरेका बाढीपीडित



काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बासिन्दा तिहारपछि आफ्नै गाउँ फर्कने तयारीमा जुटेका छन्।

सरकारले स्थायी पुनस्र्थापनाका लागि प्रभावकारी योजना अघि नबढाएपछि उनीहरू आफैँ गाउँ फर्किने मनस्थितिमा पुगेका हुन्। बाढीपछि विगत दुई महिनादेखि काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा आश्रय लिँदै आएका उनीहरूले लामो समयसम्म अस्थायी बसोबासमा रहन कठिन भइरहेको बताएका छन्। सरकारले आफ्नो समस्या र पुनस्र्थापनाको विषयलाई प्राथमिकतामा नराखेको उनीहरूको गुनासो छ।

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी नुर्बु तामाङले काठमाडौंमा अनिश्चितकालसम्म बसिरहन सम्भव नभएकाले जन्मथलो फर्कने निर्णय गरेको बताउनुभयो। आफ्नो गाउँ, संस्कृति, परम्परा र रीतिरिवाजसँग जोडिएर जीवन बिताउने चाहना रहेको उहाँको भनाइ छ।

उहाँले टिमुरेमाथिको सुरक्षित डाँडामा बस्ती विकास गर्ने योजना रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले खाद्यान्न र अस्थायी आवासको व्यवस्था गरिदिनुपर्ने माग गर्नुभयो। साथै, बाढीपीडितलाई उपलब्ध गराइएको राहत रकम पुनस्र्थापनाका काममा उपयोग गर्न सकिने उहाँको सुझाव छ।

काठमाडौंको रहनसहन, खानपान र सामाजिक वातावरण गाउँको भन्दा फरक भएकाले विस्थापित परिवारलाई यहाँको जीवनशैलीमा घुलमिल हुन कठिन भएको उहाँले बताउनुभयो। बाढीले टिमुरेको ठूलो जनसंख्यालाई प्रभावित बनाएको उल्लेख गर्दै उहाँले स्थानीय बासिन्दाको पहिचान र ऐतिहासिक सम्बन्धलाई समेत सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो।

रसुवागढी नाका पुनः सञ्चालन गर्नु पनि आफ्नो समुदायको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ। पुर्खादेखि नै नाकासँग जोडिएको टिमुरेको ऐतिहासिक महत्वलाई निरन्तरता दिन आफूहरू गाउँ फर्कन चाहेको उहाँले बताउनुभयो। बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको भविष्यप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभएको छ।

ती बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँको माग छ। माग सम्बोधन नभए आन्दोलनमा उत्रिन बाध्य हुने उहाँले चेतावनी दिनुभयो। त्यस्तै, बाढीपीडित पासाङ तामाङले पनि आफूहरूको सबैभन्दा ठूलो आवश्यकता सुरक्षित आवास भएको बताउनुभयो। टिमुरेका सबै बासिन्दा एकैपटक गाउँ फर्कन सक्ने वातावरण सरकारले तयार गर्नुपर्ने उहाँको आग्रह छ।

उहाँका अनुसार गाउँसम्म पुग्ने सडक तथा आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ हुँदा स्थानीयको पुनरागमन अन्योलमा परेको छ। सडक निर्माण नहुँदासम्म विस्थापित परिवारलाई तत्कालका लागि एउटै स्थानमा व्यवस्थित रूपमा बस्ने प्रबन्ध मिलाउनुपर्ने उहाँको भनाइ छ। सरकारले बाढीपीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। तर, काठमाडौंको महँगो बसाइ खर्चका कारण उक्त रकमले दैनिक आवश्यकता पूरा गर्न नसकेको पीडितहरूको गुनासो छ।

बाढीपीडित पेम्बा जाङ्मु घलेका अनुसार काठमाडौंमा परिवारसहित बस्न सामान्य फ्ल्याट भाडामा लिन मात्रै मासिक २० देखि २५ हजार रुपैयाँ खर्च हुन्छ। यस्तो अवस्थामा सरकारले दिने १५ हजार रुपैयाँले घरभाडा, खाद्यान्न र बालबालिकाको शिक्षाको खर्च व्यवस्थापन गर्न नसकिने उहाँले बताउनुभयो। उहाँले आर्थिक सहयोगभन्दा पनि सुरक्षित रूपमा गाउँ फर्कन सक्ने वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गर्नुभएको छ। गाउँमै फर्किएर सामान्य जीवनयापन गर्न तयार रहेको उहाँको भनाइ छ।

गत भदौ १० गते टिमुरेमा आएको बाढीपछि स्थानीय बासिन्दा विस्थापित भएका थिए। बाढी आउँदा ज्यान जोगाउन उनीहरू नजिकैको अग्लो स्थानतर्फ लागेका थिए। दिनभर उद्धारको प्रतीक्षा गर्दा पनि तत्काल सहयोग नपुगेपछि उनीहरूले गाउँकै घरमा रात बिताउनुपरेको थियो। अर्को दिन हेलिकप्टरमार्फत उद्धार गरिएका उनीहरूलाई ८ देखि ९ जनाको समूहमा धुन्चे पु¥याइएको थियो।

त्यसपछि स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। सुरुमा १० दिनसम्म यल्लो गुम्बामा राखिएका बाढीपीडितलाई पछि स्वयम्भुस्थित मुस्ताङ गुम्बामा स्थानान्तरण गरिएको थियो। हाल मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिलासहित कुल ४११ जना बाढीपीडित आश्रित छन्। उनीहरूमध्ये १७१ जना बालबालिका र ८० जना ज्येष्ठ नागरिक रहेका छन्।

दुई महिनाभन्दा बढी समयदेखि अस्थायी आश्रयमा बस्दै आएका टिमुरेवासी अहिले आफ्नै थातथलो फर्किएर सुरक्षित जीवन सुरु गर्ने प्रतीक्षामा छन्। तर, गाउँ फर्किएपछि बसोबास, सडक, खाद्यान्न, खानेपानी र अन्य आधारभूत सुविधाको व्यवस्था कसरी गर्ने भन्ने विषयमा सरकारको स्पष्ट योजना सार्वजनिक हुन सकेको छैन।

सरकारले पुनस्र्थापनाको ठोस खाका तयार नगरेसम्म टिमुरेवासीको घरफिर्ती सहज हुने देखिँदैन। आफ्नै जन्मभूमिमा फर्कने उनीहरूको चाहना पूरा गर्न अब तत्काल सरकारी पहल आवश्यक देखिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार