सुर्खेत । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पार्टी सभापतिबाट हटाउन राजीनामा दुई तिहाइ बहुमतबाट पारित अविश्वासको प्रस्ताव वा मृत्यु हुनुपर्ने बताएका छन् । आइतबार वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित कर्णाली प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू नै पार्टीको सभापति रहेको दाबी गरेका हुन् ।

देउवाले आगामी महाधिवेशनमा निष्पक्ष निर्वाचन हुने र निर्वाचनबाट विजयी हुने व्यक्ति नै पार्टी सभापति बन्ने बताए । पार्टीको नेतृत्व चयन विधिसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्ने उनको भनाइ थियो ।
सभापतिबाट हटाउन राजीनामा गर्नुपर्दछ, कि अविश्वासको प्रस्तावमार्फत दुई तिहाइबाट हटाउनुपर्दछ, कि उसको मृत्यु भएको हुनुपर्दछ,’ उनले भने, ‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ । अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ । चुनावबाट जित्ने सभापति हुन्छ ।
पार्टीको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको प्रसंग उल्लेख गर्दै देउवाले आफूलाई न्यायालयप्रति पूर्ण विश्वास रहेको बताए । राजतन्त्रको समयदेखि नै अदालतप्रति विश्वास गर्दै आएको उल्लेख गर्दै उनले अदालतबाट आफ्नै पक्षमा फैसला आउने विश्वास व्यक्त गरे ।
मलाई हिजो राजतन्त्रदेखि नै अदालतप्रति पूर्ण विश्वास रहँदै आएको छ । हाम्रै पक्षमा फैसला आउँछ भन्ने मलाई पूर्ण विश्वास छ,’ उनले भने । आफूले राजनीतिक जीवनमा प्राप्त गर्नुपर्ने सबै उपलब्धि हासिल गरिसकेको उल्लेख गर्दै देउवाले अब पार्टीका अन्य नेताहरूको पालो आएको बताए । पाँच पटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै उनले अब आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पारे । मलाई अब केही हुनु छैन । यो देशले पाँच–पाँच पटक प्रधानमन्त्री बनाइसक्यो । अब साथीहरूको पालो हो । मैले पाउनुपर्ने सबै पाइसकेको छु,’ देउवाले भने ।








