२०८३ मंसिर ११ , शुक्रबार

कर्णालीबाटै प्रशिक्षण सुरु गर्दै रास्वपा

तीन सय नेता–कार्यकर्ता सहभागी हुने, संगठन सुदृढीकरण र नेतृत्व विकासमा जोड


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशबाट प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूको उपस्थितिमा शनिबार र आइतबार वीरेन्द्रनगरमा दुईदिने प्रशिक्षण सञ्चालन हुन लागेको हो ।

प्रशिक्षणका लागि सभापति लामिछाने शुक्रबार नै सुर्खेत आइपुगेका छन् । पार्टीका कर्णाली प्रदेश महामन्त्री ललित चन्दका अनुसार प्रशिक्षणमा सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सोबिता गौतम, महामन्त्री विपिन आचार्य, नेता शिशिर खनाल, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र हरि ढकाललगायत सहभागी हुनेछन् ।

प्रशिक्षणमा कर्णालीका जिल्ला, प्रदेश तथा स्थानीय तहका गरी करिब तीन सय नेता तथा कार्यकर्ता सहभागी हुने प्रदेश उपसभापति तुलाराज शाहीले जानकारी दिए । वीरेन्द्रनगरस्थित कौशिक गार्डेनमा सञ्चालन हुने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीका विषयमा प्रशिक्षण दिइनेछ ।

रास्वपाले अन्य प्रदेशको तुलनामा कर्णालीलाई प्राथमिकतामा राख्दै प्रदेशस्तरीय प्रशिक्षणको सुरुवात यहीँबाट गर्न लागेको जनाएको छ । कर्णालीमा पार्टीको अवस्था अपेक्षाकृत कमजोर देखिएकाले संगठन सुदृढीकरण र आगामी राजनीतिक तयारीका लागि कर्णालीलाई प्राथमिकता दिइएको महामन्त्री चन्दले बताए ।

‘कर्णालीलाई अहिले रास्वपाले विशेष तरिकाले हेरेको छ । चुनावमा पनि रास्वपाको अवस्था केही न्यून रहेको देखियो,’ उनले भने, ‘हरेक हिसाबले पछाडि परेको प्रदेश भएकाले सरकारले पनि अहिले प्राथमिकताका साथ काम गरिरहेको छ भने पार्टीले पनि कर्णालीलाई प्राथमिकतामा राखेर यहीँबाट प्रशिक्षणको सुरुवात गरेको हो ।

कर्णालीबाट प्रशिक्षण सुरु गरेपछि क्रमशः अन्य प्रदेशमा पनि कार्यक्रम सञ्चालन गर्ने पार्टीको तयारी छ । प्रशिक्षणलाई संगठन विस्तार, नेतृत्व विकास तथा पार्टीको राजनीतिक दृष्टिकोणबारे नेता–कार्यकर्तालाई स्पष्ट पार्ने अवसरका रूपमा लिइएको छ ।

यसैबीच, उम्मेदवार छनोटको विषयमा सामाजिक सञ्जालमार्फत आफूलाई उम्मेदवार घोषणा गर्दै प्रचार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने रास्वपाले जनाएको छ । पार्टीका सहमहामन्त्री राजबहादुर शाहले ‘म नै उम्मेदवार हुँ’ भन्दै सामाजिक सञ्जालमा प्रचार गर्नेहरूमाथि कारबाही गरिने बताए । उम्मेदवारको संख्या अझै टुंगो नलागेकाले बढ्न सक्ने उनको भनाइ छ । संगठन विस्तारका क्रममा रास्वपा कर्णालीले प्रदेशका १० जिल्लामध्ये आठ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ । डोल्पा र हुम्लामा भने अधिवेशन हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार