२०८३ वैशाख ४ , शुक्रबार

अन्तरपालिका लोक दोहोरी प्रतियोगिता हुदै



सल्यान  ।  जिल्लाको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सल्यानमा लोक दोहोरी गीत प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगिता वैशाख छ देखि १० गतेसम्म श्रीनगरस्थित आधुनिक बसपार्कमा सञ्चालन हुनेछ । शारदा नगरपालिकाको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सल्यान शाखाको सहजीकरणमा हुने प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहले क्रमशः ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कारस्वरूप २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

व्यक्तिगततर्फ उत्कृष्ट महिला र पुरुष कलाकारलाई जनही दुइ हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।  प्रतियोगितामा जिल्ला भित्रका सबै स्थानीय तहबाट सहभागिता जनाउन सकिनेछ। प्रत्येक पालिकाबाट बढीमा दुई समूहले मात्र भाग लिन पाउनेछन् र प्रत्येक समूहमा अनिवार्य रूपमा एक महिला र एक पुरुष कलाकार समावेश हुनुपर्नेछ ।

राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यावसायिक कलाकारहरूलाई भने प्रतियोगितामा सहभागी नगराइने आयोजकले स्पष्ट पारेको छ । यस प्रतियोगिताले लोक दोहोरी परम्पराको संरक्षण, नयाँ प्रतिभाको पहिचान र स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ । यसअघि वैशाख १ गतेका लागि तय गरिएको कार्यक्रम प्राविधिक कारणले वैशाख ६ गतेदेखि सुरु हुनेगरी मिति परिवर्तन गरिएको हो ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार