- दशौं राष्ट्रिय खेलकुदको पुरुष फुटबल सेमिफाइनल समीकरण पूरा भएको छ। आर्मी र कोशी १–१ को बराबरीसँगै अन्तिम चारमा पुगेका छन्। सेमिफाइनल र फाइनल खेल जुम्लामा हुनेछन्।

सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेसँगै सेमिफाइनलको टुंगो लागेको हो।
नेपाली सेनाको सुर्खेतस्थित राजदल गणको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन्। खेलको ५१औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ६८औँ मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। खेलका क्रममा कोशी प्रदेशका जर्सी नम्बर १० का खेलाडी शौरभ लिम्बुले पहेँलो कार्ड पाएका थिए।
बराबरीसँगै त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश दुवै टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। यसअघि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका थिए।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा आर्मी र एपीएफ तथा कोशी प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन्। प्रतियोगिताका सेमिफाइनल र फाइनल खेलहरू अब जुम्लामा सञ्चालन हुनेछन्।








