- दशौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई ६९ रनमै रोक्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। लक्ष्मी साउँद प्लेयर अफ द म्याच बनिन्।

सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङको निम्तो दिएको आर्मीले सुदूरपश्चिमलाई ६९ रनमै रोक्न सफल भयो। जवाफी ब्याटिङ थालेको आर्मीले १० ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
सुदूरपश्चिमका लागि ऋतु कनौजियाले १९ र यशु पाण्डेले १२ रन बनाउनुबाहेक अरूले दोहोरो अंक छुन सकेनन्। ओपनर अनु कडायतले ७, मनिषा बोहराले २, रविना बोहोराले ४ र हिसिला खड्काले ३ रन बनाए। सुदूरपश्चिमका स्नेहा महरा, रविना साउँद, ममता चन्द र सविना नेगी शून्यमै आउट भए। सुदूरपश्चिमले ६९ रन बनाउँदा २० रन अतिरिक्त प्राप्त गरेको थियो।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी लक्ष्मी साउँदले महत्वपूर्ण चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १७ रन खर्चिइन्। यस्तै, आर्मीकी इश्वरी विष्टले तीन ओभर बलिङ गर्दै १६ रन खर्चिएर दुई विकेट हात पारिन्। मनिषा उपाध्यायले चार ओभर बलिङ गर्दै दुई ओभर मेडन राख्दै ६ रन खर्चिएर एक विकेट हात पारिन्। आर्मीकी संगीता गुरुङको नाममा एक विकेट रह्यो।

७० रनको लक्ष्य पछ्याएको आर्मीले १० ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो। आर्मीकी कविता कुँवरले नटआउट २० रन र लक्ष्मी साउँदले नटआउट १८ रनको पारी खेले। कविताले २० रन बनाउन १७ बलको सामना गर्दै दुई छक्का प्रहार गरिन्। लक्ष्मीले ११ बलमा तीन चौकाको मद्दतमा १८ रनको नटआउट पारी खेलिन्। ओपनर सम्झना खड्काले १६, रुवि पोद्दारले १३ र विन्दू रावलले एक रन बनाए। विन्दू र रुवि रनआउट भएका थिए भने सुदूरपश्चिमकी अनु कडायतले आर्मीको एक विकेट लिइन्।
सुदूरपश्चिमका महत्वपूर्ण चार विकेट र टोलीका लागि १८ रनको नटआउट पारी खेलेकी आर्मीकी लक्ष्मी साउँद प्लेयर अफ द म्याच घोषित भइन्।








