सुर्खेतमा साढे ५ केजी अफिमसहित एक जना पक्राउ

 सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ । बुधवार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारीमा अफिम कारोबार भइहेको जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि पाँच किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताए ।

बस्नेतको साथबाट अफिम तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक धितो पाँच थान र नगद चार हजार सात सय ३० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार जाजरकोट लगायतका पहाडी जिल्लाबाट संकलन गरिएका अफिमलाई आर्थिक लाभका लागि भारतीय सिमासम्म ओसारपसार गर्ने उद्देश्य रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस्नेतसँग भारतीय नागरिकले अफिम खरीदका लागि बोलाएको उनी भाग्न सफल भएका छन् ।

बरामद अफिमको नेपालमा मूल्य करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ र प्रतिकिलो मूल्य १ लाख ६० हजार अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा भने अफिमको मूल्य करोडौं पर्ने भएकाले विदेश लैजान लागेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार याे बरामद भएकाे अफिम अहिलेसम्मकाे ठुलाे परिमाण हाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *