आमा गुमाएका बालबालिकालाई शीतल माविका पूर्वविद्यार्थीको सहयोग

रुकुम पश्चिम ।
 रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ टाटागाउँमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेपछि बिचल्ली अवस्थामा रहेको तीन बालबच्चाहरुलाई विभिन्न व्यक्ति तथा निकायले सहयोग गर्ने क्रम जारी रहेको छ ।

यस क्रममा चौरजहारीमा रहेको शीतल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले बालबालिकाको घरमा पुगेर नगद रकम सहयोग गरेका छन् । शीतल माविबाट २०६७ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले ७४ हजार ६१० रुपियाँ संकलन गरेर हस्तानरतण गरेका हुन् । उक्त रकम शीतल माविका पूर्व विद्यार्थीहरु निर्जल केसी, तिलक लामिछाने, सन्देश शर्मा, तेज कुमार बिष्ट लगायतले हस्तान्तरण गरेका हुन् । एकै वर्ष एसएलसी दिएका ३६ जना विद्यार्थीहरुबाट उक्त रकम संकलन भएको सहयोग संकलन अभियान्ता तिलक लामिछानेले जानकारी दिए ।

विद्यार्थीहरुको उक्त टोलीले पीडितको घरमै पुगेर मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् भने यस घटनाका दोषीलाई हदैसम्मको कारबाहिको माग गरिएको छ । गत जेठ १७ गते राती ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । आमाको हत्या र बुवा प्रहरी नियन्त्रणमा रहेपछि उनका तीन बालबालिका सहाराबिहिन बनेका छन् । मृतकका १३ र ११ वर्षीया दुई छोरी र ६ वर्षका एक छोरा रहेका छन् ।

अन्य समाचार

+ There are no comments

Add yours