वीरेन्द्रनगरबाट पठाइएकी बालिका अवैध बालगृहमा, प्रहरी सक्रिय

सुर्खेत

 बालबालिका संरक्षण गृहको अनुमति नै नलिएको एक संस्थाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाबाट सिफारिस लिएर २१ जना बालिका चितवन पु¥याएपछि प्रहरीको सक्रियतामा उनीहरूलाई उद्धार गरिएको छ । ‘आमाको 

काख’ नामक संस्थाले वैधानिक प्रक्रिया पुरा नगरी सञ्चालन गर्दै आएको खुलेपछि चितवन प्रहरीले मङ्गलवार भरतपुर महानगरपालिका–११ स्थित एक घरबाट ती बालिकाहरूको उद्धार गरेको हो ।

प्रहरीका अनुसार संस्थाले बालगृह सञ्चालनको कुनै आधिकारिक अनुमति लिएको छैन भने न्यूनतम आवश्यक सुविधा समेत बालिकाहरूलाई उपलब्ध गराएको थिएन । सञ्चालक पवित्रा रिजालसहित तीन जनाले सुर्खेतको वीरेन्द्रनगरबाट २१ जना, चितवन र हेटौंडाबाट जनही १/१ जना गरी जम्मा २३ जना बालिका चितवन ल्याएका थिए ।

वीरेन्द्रनगर नगरपालिकाका एउटै वडाले १७ जना र अन्य तीन वडाका अध्यक्षहरूले बालिका पढाउन आवश्यक सिफारिस दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार उद्धार गरिएका सबै बालिकाका अभिभावक रहेको पाइएका छन् ।

उनीहरूलाई वडाले विपन्नको आधारमा सिफारिस गरेर पठाएको थियो । तीमध्ये धेरैजसो बालिकाहरू वादी, दलित र जनजाति समुदायका रहेका छन् । वीरेन्द्रनगर–११ का वडाध्यक्ष खिमलाल देवकोटाले आफुले वडाबाट राम्रो मनसायमा सिफारिस दिएको स्वीकार गरे । उनले स्थानीयले पढाउन सहयोग गरिदिन भनेपछि आफुले सहमत भएर सिफारिस दिएको बताए ।

बालकल्याण अधिकारी शान्ताकुमारी पौडेलका अनुसार उद्धार गरिएका बालिकाहरूलाई चितवनका विभिन्न संरक्षण गृहमा राखिएको छ । उनले बिना दर्ता संस्था सञ्चालन गर्नु गम्भीर अपराध भएको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने बताइन् । ‘संस्थाले न त बालगृह अनुमति लिएको छ, न विद्यालयसँग आधिकारिक सहमति नै छ,’ उनले भनिन् ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार अभिभावक र सम्बन्धित वडाध्यक्षलाई चितवन बोलाएर बालिकाहरूलाई परिवारसँग फिर्ता पठाउने तयारी भइरहेको छ । प्रहरीका अनुसार अभिभावक स्वयंले पठाएका कारण उनीहरूको जाहेरी आउन सक्ने सम्भावना न्यून छ । यसैबीच, चितवन प्रहरीले ‘आमाको काख’ संस्थाकी सञ्चालक पवित्रा रिजाललाई नियन्त्रणमा लिएको छ ।

उनले ऋण लिएर र दाताको भरमा बालिकाहरू ल्याएको बताएकी छन् । प्रहरीका अनुसार संस्था सञ्चालकविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाउनेबारे अनुसन्धान भइरहेको छ । अहिले संस्था बोर्डविना सञ्चालनमा रहेको, सञ्चालन अनुमति नलिएको र कानुन उल्लङ्घन गरिएको भन्दै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अन्य समाचार

+ There are no comments

Add yours