कर्णाली करिडोरअन्तर्गत कालिकोटको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ ।
नेपाली सेनाले निर्माण गरेको फलामे बेलिब्रिज र पहिलेको झोलुङ्गे पुल ०७७ को असारमा आएको बाढीले बगाएपछि नयाँ पुल बनेको छैन । सुख्खा सिजनमा खोलाबाट गाडी र पैदल यात्री आवतजावत गर्न कठिनाइ नभए पनि वर्षायाममा खोला तर्न कठिन छ । फुगाड खोला तर्न नसक्दा साना जिप र मोटरसाइकल मंगलबारदेखि नै पारिका पारि नै र वारिका वारि नै रोकिएका छन् । मिनी टाटा जीसीबी र ट्याक्टरले तानेर खोला पार गर्ने गरिएको छ भने पैदल यात्रीलाई निकै सास्ती हुने गरेको पचालझरना–४ राम्नाकोटकी सुमित्रा बमले बताइन् । खोला बढेका बेला तर्नै सकिँदैन, उनले गुनासो पोखिन्, पैदल यात्रुले खोला तर्नकै लागि ३ घण्टा उकालोओरालो गरेर फुकोट गाउँको झोलुङ्गे पुल तर्न जानु पर्छ ।
कर्णाली करिडोरको फुगाड खोलामा पुल नबन्दा गत वर्ष ३ मोटरसाइकल बगेको पलाता घर भएकी कांग्रेस नेतृ दिलु बमले सुनाइन् । यहीको खोलाले बगाउँदा ३ वर्षमा ४ जना स्थानीय बेपत्ता छन् । गाडी र पैदल यात्री दुवैलाई समस्या छ । फुगाड खोला तर्न नसकेर आफू घर नगएर सदरमुकाम फर्किएको पचालझरना घर भएकी जिल्ला समन्वय समिति उपप्रमुख मीना रावत विकले गुनासो पोखिन् । वर्षाका बेला करिडोर नै बन्द हुन्छ उनले भनिन्, सरकारले हुम्ला गाडी पुग्यो भनेर प्रचार गरे पनि कालिकोटको फुगाड खोलामा सधैं सडक अवरुद्ध हुन्छ ।
कालिकोटको फुगाडसहित ९ वटा सडक पुलको ०७९ को असारमा ठेक्का भए पनि काम नै सुरु नभएको कर्णाली करिडोर सडक डिभिजन कार्यालय सिमिकोटका प्रमुख बेलबहादुर नेपालीले बताए । ठेक्का त भएको हो उनले भने, काम सुरु नै भएको छैन । उनका अनुसार फुगाड खोलाको पुलको डिजाइन नै सडक विभागबाट स्वीकृत भएको छैन । यसैबीच कर्णाली करिडोरको फुगाड खोलामा पुल नहुँदा नागरिकले सास्ती पाएको भन्दै कालिकोटका स्थानीयले बुधबार प्रजिअ नारायणप्रसाद भट्टराईको ध्यानाकर्षण गराएका छन् ।
फुगाड खोला तर्न तत्काल झोलुङ्गे पुल निर्माण गरिनु पर्छ, नागरिक अगुवा राजु बोगटीले भने, खोला तर्न नसकेर ३÷४ घण्टाको घुमाउरो बाटो हिँड्नु पर्छ । फुगाड खोलामा तत्काल यात्रुलाई आवतजावत गर्ने व्यवस्था मिलाउन आफूले सडक डिभिजन कार्यालय हुम्ला र बाजुराको पीलुचौरका प्रमुखलाई जानकारी गराएको सुनाउँदै प्रजिअ भट्टराईले सडक विभागका महानिर्देशकसँग कुरा गरेर निकास खोजिने प्रतिबद्धता पनि जनाए ।
+ There are no comments
Add yours