जुम्ला जिल्लामा निर्माणधिन उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना निर्माणको भौतिक प्रगती ८० प्रतिशत भएको छ ।
निर्माण सुरु भएको दुई वर्षको अवधिमा उक्त सिँचाई आयोजनाको भौतिक प्रगती ८० प्रतिशत भएको पाइएको छ । जुम्लाकै सबैभन्दा ठुलो सिँचाई आयोजनाका रुपमा रहेको उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना खानेपानी,सिँचाई तथा उर्जा विकास कार्यालय जुम्लाले निर्माण गरिरहेको छ । सिँचाई अभावले बाँझिदै गएका खेतीयोग्य जमिनमा सिँचाई विस्तार गरी उत्पादन बढाउने उदेश्यले कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको ५ करोडबढीको लागतमा उठिल्या–एैरेनी आयोजना निर्माण भईरहेको खानेपानी,सिँचाई तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकल बहादुर महतले बताए । उनका अनुसार चन्दननाथ नगरपालिकाको वडा नं. ९ देखी तातोपानी गाउँपालिका वडा नं. ५ को एैरेनी सम्म ४.५ किलोमिटर लामो सिँचाई कूलो मध्य पहिलो प्याकेजमा २ किमी सिँचाई कूलो निर्माणको काम अन्तिम चरणमा गएको छ । कूल ९ करोड २४ लाख ११ हजार बराबरको स्टमेट स्वीकृत भएकोमा पहिलो प्याकेज निर्माण कार्यका लागि रुद्रावति निर्माण सेवा धनगडीसंग ५ करोड १२ लाख २२ हजारमा ठेक्का सम्झौता भएको छ ।
२०८० जेठ १४ गतेबाट निर्माण सुरु भएको बृहत्त सिँचाई आयोजना आगामी २०८३ जेठ २८ गते सम्पन्न गर्ने सम्झौता भएको छ । कार्यालय प्रमुख महत भन्छन, हामीसंगै अझै एक वर्ष बाँकी छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तिय प्रगती ६० प्रतिशत भएको छ । अहिले रोपाईँ सुरु भएका काम रोकिएको छ । दशै तिहार लगत्तै काम सुरु भई निर्धारित समयमै सम्पन्न हुन्छ । कूल ५ करोड १२ लाख २२ हजार मध्य हालसम्म ३ करोड २६ लाख ४८ हजार रुपैयाँ खर्च भईसकेको छ । पहिलो प्याकेज अन्तरर्गत २ किलोमिटर नहर निर्माण, हेडवक्स निर्माण,पानी प्रवेशद्धारको गेट निर्माण भईसकेको छ । चन्दननाथ–९ देखी तातोपानी–५ सम्म ४.५ किमी लामो नहरमध्य पहिलो प्याकेजमा उठिल्यादेखी श्रीनगरसम्म २ किमी नहर निर्माण भएको छ । स्टेमनुसार आयोजनाको गुणस्तर देखी निर्माण सामाग्रीको गुणस्तरका विषयमा नियमित अनुगमन तथा निरिक्षण लगायतका काम भईरहेको कार्यालय प्रमुख महतले उल्लेख गरेका छन् । रोपाई सुरु भएपछि नहरको तल्लो भागमा सरिया बिछयाएको र कंक्रीट हाल्न नपाउँदै किसानले पानी छोडेपछि काम रोकिएको कार्यालयले जनाएको छ ।
पहिलो प्याकेजको काम सकिए लगत्तै दोस्रो प्याकेज निर्माणको स्वीकृतीको प्रक्रिया अघि बढाईने छ । बहुवर्षिय आयोजना भएकोले बजेटको समस्या नहुने अपेक्षा गरिएको छ । यदपी बजेट स्वीकृती गराउन कार्यालय प्रमुखहरुले प्रदेश मन्त्रालयमा निधै धाउनु पर्ने अबस्था छ । उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना निर्माणपछि चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाको ९० हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार हुने भएको छ । सिँचाई अभावले खेती नगरेर बाँझिएका खेतीहरुमा आयोजना निर्माणपछि सिँचाई सुविधा पुग्ने र उब्जनी बढ्ने आशामा किसान छन् । स्थानीय लक्ष्मी कार्की भन्छन,‘परम्परागत कूलोमा थोरै पानी आउने र वर्षामा भत्कीने समस्याले सिँचाईमा समस्या थियो । अहिले ठुलो सिँचाई आयोजना बन्न थालेपछि विगतको जस्तो समस्या नहुने आशामा छौ । सिँचाई अभावले बाँझिएका जमिनमा अब खेती गरिने छ ।


Leave a Reply