दाङको तुलसीपुरमा दुई किशोरबीचको कुटपिटबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा बस्ने १५ वर्षीय बिराज गिरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सुर्य बहादुर रानाका अनुसार मृतक गिरी दाङ डेरामा बसेर अध्ययन गर्दै आएका थिए । १९ जेठमा साँझ साढे ५ बजेतिर तुलसीपुर–९ बेलुवामा गिरी र सोही ठाउँका मोतिराम वलीका १५ वर्षिय छोरा यज्ञ वलीबीच कुटपिट भएको थियो । मृतक गिरीले पहिले आफूमाथि हात उठाएपछि आफुले प्रतिकार गर्दै दुई मुक्का प्रहार गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
कुटपिटपछि दुबैजना नजिकैको विद्यालय क्यान्टिनमा गइ पानी पिएपछि गिरी एक्कासि ढलेका थिए । ढले लगत्तै उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगञ्जस्थित नर्सिङ होममा लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान पौने ३ बजे गिरीको मृत्यु भएको सुचना अधिकारी रानाले जानकारी दिए । दुवै किशोर श्री माध्यमिक विद्यालय दोघरेमा अध्ययनरत थिए ।
मृतक गिरीले रुकुममै परीक्षा दिएर दाङ फर्किएका थिए भने वली हाल कक्षा ९ मा अध्ययनरत छन् । गिरीको मृत्युपछि कुटपिटमा संलग्न यज्ञ वली प्रहरी नियन्त्रणमा छन्। प्रहरीका अनुसार उनीहरुको झगडा सामाजिक सञ्जाल फेसबुकमा गालीगलौजबाट सुरु भएको थियो । हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply