२०८३ जेठ ३ , आइतबार

तातापानी गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन आइतबार हुँदै



सुर्खेत । वीरेन्द्रनगर ३ स्थित तातापानी युवा क्लबको आयोजनामा आगामी २०८२ जेठ ३ गतेदेखि सञ्चालन हुन लागेको “प्रथम तातापानी गोल्ड कप फुटबल प्रतियोगिता” को उद्घाटन खेल आइतबार दिउँसो ३ बजे हुने भएको छ। प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।
स्थानीय युवाहरूलाई रचनात्मक तथा खेलकुद गतिविधिमा सक्रिय बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा हालसम्म १९ वटा टिम दर्ता भएका छन्। प्रतियोगिता नकआउट आधारमा सञ्चालन गरिने क्लवका अध्यक्ष उत्सव शाहीले बताए ।
उनका अनुसार प्रतियोगितामा कालिकोट, दैलेख, सुर्खेत लगायत विभिन्न जिल्लाबाट टिमहरू सहभागी हुन आएका छन्। प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने विश्वास लिइएको उनले बताए।
प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ। साथै प्रतियोगितामार्फत खेलाडीबीच भाइचारा, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
तातापानी युवा क्लबले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न संघसंस्था, व्यवसायी तथा खेलप्रेमीहरूलाई सहयोगका लागि आग्रह समेत गरेको छ।
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार