सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयाेजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै अब प्रतिवाद गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । आइतबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले लोकतान्त्रिक मूल्य र संवैधानिक प्रक्रियालाई कमजोर बनाउने खालका कदम चालिरहेको आरोप लगाए । प्रचण्डले सरकारले अध्यादेश मार्फत निर्णयहरू अघि बढाउनु, ट्रेड युनियन अधिकार कमजोर पार्ने प्रयास गर्नु तथा संसदलाई प्रभावहीन बनाउने गतिविधि गर्नु उचित नभएको बताए ।
उनले प्रारम्भमा संविधान संशोधन र लोकतन्त्रको रक्षाका लागि आफूहरूले सरकारलाई रचनात्मक सहयोग गर्ने सोच बनाएको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले समर्थनभन्दा विरोध गर्नुपर्ने परिस्थिति सिर्जना गरेको बताए । उनले भने, “संविधान संशोधन वा लोकतन्त्रको रक्षाका निम्ति हामीले रचनात्मक ढंगले सहयोग गर्ने सोच बनाएका थियौं । तर सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको छ । अब जनताको अधिकार र संविधानको मर्म जोगाउन आवाज उठाउनुपर्ने अवस्था आएको छ ।”
प्रचण्डले झण्डै दुई तिहाइ नजिक रहेको सरकारले संविधान संशोधनजस्तो संवेदनशील विषयमा समेत पारदर्शिता कायम गर्न नसकेको टिप्पणी गरे । उनले संसदलाई छल्दै अध्यादेश ल्याउनु लोकतन्त्रको अपमान भएको बताउँदै यस्ता कदमले राजनीतिक अस्थिरता र अविश्वास बढाउने चेतावनी दिए । उनका अनुसार संविधान संशोधन राष्ट्रिय सहमति र खुला बहसको विषय हुनुपर्ने भए पनि सरकारले आवश्यक परामर्श र राजनीतिक संवाद नगरी एकपक्षीय ढंगले अघि बढ्न खोजेको देखिएको छ । उनले लोकतान्त्रिक व्यवस्थामा संसद सर्वोच्च थलो भएकाले संसदलाई बेवास्ता गरेर गरिने निर्णय स्वीकार्य नहुने बताए ।
पत्रकार सम्मेलनका क्रममा उनले कम्युनिष्ट एकताबारे पनि धारणा राखे । कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि नीतिगत निर्णय भइसकेको र नेताहरूबीच छलफल जारी रहेको जानकारी दिए । तर तत्कालै पार्टी एकीकरण हुने अवस्था भने नरहेको उनको भनाइ थियो । उनले विचार, नीति र कार्यक्रमका आधारमा मात्रै दिगो एकता सम्भव हुने भन्दै हतारमा गरिने एकताले दीर्घकालीन परिणाम नदिने बताए । प्रचण्डले देशको वर्तमान राजनीतिक परिस्थिति, लोकतान्त्रिक अधिकारको रक्षा र जनताका मुद्दालाई केन्द्रमा राखेर आगामी राजनीतिक रणनीति तय गरिने पनि स्पष्ट पारे ।









