सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माणका काम प्रभावित बनेको भन्दै संघीय सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । शुक्रबार कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री कँडेलले मूल्यवृद्धिको असर कर्णालीसहित देशभरका विकास आयोजनामा परेको उल्लेख गरे । उनले यो समस्या प्रदेश सरकारको मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग जोडिएको विषय भएकाले संघीय सरकारले गम्भीरतापूर्वक समाधान खोज्नुपर्ने बताए ।
“यो अन्तर्राष्ट्रिय कारणले सिर्जना भएको राष्ट्रिय समस्या हो,” उनले भने, “संघीय सरकारले समयमै उचित निर्णय नगरे विकास निर्माणका धेरै आयोजना प्रभावित हुनेछन् ।” मुख्यमन्त्री कँडेलले हालै प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेटका क्रममा पनि यही विषय उठाइएको जानकारी दिए । उनका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण व्यवसायी मात्र नभई प्रदेश सरकारका विकास आयोजना पनि प्रभावित बनेका छन् । उनले प्रदेश सरकारले समस्या समाधानका लागि पहल गर्न खोजे पनि संघीय कानुनका कारण निर्णय प्रक्रियामा जटिलता रहेको बताए ।
“प्रदेश सरकार व्यवसायीका समस्या समाधानप्रति सकारात्मक छ,” उनले भने “तर कतिपय निर्णयमा संघीय कानुनले सीमित बनाएको अवस्था छ ।” मुख्यमन्त्री कँडेलले पछिल्ला केही वर्षयता भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाले विकास खर्च र निर्माण कार्यमा प्रत्यक्ष असर पारेको उल्लेख गरे । यस्ता परिस्थितिलाई बेवास्ता गर्दै प्रदेश सरकारको क्षमता र योग्यतामाथि प्रश्न उठाउने प्रयास भइरहेको उनकाे भनाइ थियो । उनले निर्माण व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकार आवश्यक निर्णय गर्न तयार रहेको संकेत गरे ।
लामो समयसम्म ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने निर्माण कम्पनीप्रति भने सरकार कठोर बन्ने चेतावनी दिए । “पाँच वर्षसम्म ठेक्का लिएर पनि १० देखी १५ प्रतिशत मात्रै काम गर्ने रुग्ण आयोजनामा सरकार कडा निर्णयमा पुग्न बाध्य हुन्छ,” उनले बताए । मुख्यमन्त्री कँडेलले वर्तमान परिस्थितिका कारण निर्माण व्यवसायीलाई तत्काल अयोग्य ठहर गर्ने वा कानुनी कारबाहीतर्फ नजाने स्पष्ट पार्दै सरकार व्यवसायीका समस्याप्रति संवेदनशील रहेको बताए ।








