सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्ति र संकटका बेला नागरिकको भरोसायोग्य साथीका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले बीमा सेवा नागरिकको दुःखमा साथ दिने भरपर्दो माध्यम बन्नुपर्नेमा जोड दिए । “बीमा विपत्तिको साथी हो । अप्ठ्यारो पर्दा नागरिकले सम्झिने र विश्वास गर्ने क्षेत्र बन्नुपर्छ,” उनले भने ।
मुख्यमन्त्री कँडेलले कर्णाली जस्ता दुर्गम क्षेत्रमा अझै पनि बीमा सेवाको पहुँच पर्याप्त नभएको उल्लेख गर्दै गाउँ–गाउँसम्म सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नागरिकमा बीमाप्रति सकारात्मक सोच विकास गर्न जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए । उनका अनुसार जनचेतनाको कमीका कारण धेरै नागरिक अझै पनि बीमाको पहुँचबाहिर रहेका छन् । प्रदेश सरकारले बीमासम्बन्धी सचेतना फैलाउने कार्यलाई प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए ।
“हाम्रो समाज बनिबनाउ सोचमा सीमित छ । राम्रो कुरा सिक्ने र आफ्नै ठाउँ आफैं बनाउने संस्कार विकास गर्नुपर्छ,” उनले भने । मुख्यमन्त्री कँडेलले संकट र दुःखका बेला बीमा क्षेत्रले नागरिकको सारथी बन्नुपर्ने उल्लेख गर्दै आर्थिक कारोबार गर्ने संस्था तथा व्यक्तिहरू पारदर्शी, विश्वसनीय र अनुशासित हुनुपर्ने धारणा राखे । बीमा क्षेत्रमा देखिएका दाबी भुक्तानीसम्बन्धी जटिलताप्रति ध्यानाकर्षण गराउँदै उनले नागरिकले सहज र छिटो सेवा पाउनुपर्नेमा जोड दिए । भुक्तानी प्रक्रियालाई सरल, प्रभावकारी र सेवामुखी बनाउन आवश्यक रहेको उनकाे भनाइ रहेका छ ।








