२०८३ जेठ ४ , सोमबार



हुम्ला ।  वर्षायाम सुरु भएसँगै हुम्लाको हिल्सा नाका हुँदै चीनस्थित कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्न थालेको छ । सिजन सुरु भएको चार दिनमै एक सय ६९ जना तीर्थयात्री हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन् । नेपालगन्जबाट हवाईमार्ग हुँदै सिमकोट पुगेका तीर्थयात्री हिल्सा नाका भएर कैलाश मानसरोवर जाने तयारीमा रहेका छन् । सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहका अनुसार वैशाख ३० गतेदेखि तीर्थयात्री आउन सुरु गरेका हुन् ।

हालसम्म आएका यात्रुमध्ये एक सय ४७ जना भारतीय र २२ जना अन्य देशका नागरिक रहेका छन्। प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै समिट एयरले तीन उडानमार्फत ४७ जना तीर्थयात्री सिमकोट पुर्‍याएको थियो । तर तीमध्ये २३ जना भारतीय तीर्थयात्री आवश्यक यात्रा अनुमति (परमिट) नपाएका कारण सिमकोटमै रोकिएका छन् । गत चैत २१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले परमिट प्रक्रिया ढिलो भएको बताइएको छ ।

त्यसका कारण तीर्थयात्रीले केही दिन सिमकोटमै बस्नुपर्ने अवस्था आएको हो । स्थानीय पर्यटन व्यवसायीका अनुसार यस वर्ष कैलाश मानसरोवर यात्रामा सहभागी हुने पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ । सिजनको सुरुआतमै उल्लेख्य सङ्ख्यामा तीर्थयात्री आउन थालेपछि हुम्लाको पर्यटन तथा व्यापार क्षेत्रसमेत उत्साहित बनेको छ । २०७२ सालको भूकम्पपछि भारतीय पर्यटकले हिल्सा नाका प्रयोग गरेर कैलाश मानसरोवर यात्रा गर्न थालेका थिए ।

पछि कोरोना महामारीका कारण नाका बन्द हुँदा यात्रा अवरुद्ध भएको थियो । गत वर्ष चीन सरकारले पुनः भारतीय पर्यटकलाई हिल्सा नाकाबाट यात्रा गर्न अनुमति दिएपछि चार महिनाको अवधिमा करिब छ  हजार पाँच सय भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर यात्रा गरेका थिए। यस वर्षको पहिलो टोली वैशाख ३० गते सिमकोट पुगेको हो ।

प्रकाशित मिति : २०८३ जेठ ३ गते आइतबार