सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अत्याधुनिक इलेक्ट्रिक एसयूभी OMODA E5 Pro आधिकारिक रूपमा सार्वजनिक गरिएको छ । Omoda & Jaecoo को सुर्खेत तथा कर्णाली क्षेत्रका लागि आधिकारिक 3S (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) डिलर स्वर्णिम बिजनेस कन्सर्न प्रालि. ले एयरपोर्ट चोकस्थित आफ्नै शोरूममा भव्य कार्यक्रमबीच नयाँ मोडल सार्वजनिक गरेको हो ।

कार्यक्रममा स्वर्णिम बिजनेस कन्सर्नका प्रबन्ध निर्देशक सैयद अनवर अली, निर्देशकद्वय सोमराज थापा र रोसब सोब तथा Omoda & Jaecoo Nepal का सहायक प्रबन्धक तपेन्द्र भट्टको उपस्थिति रहेको थियो । साथै कर्णाली क्षेत्रका उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा अटोमोबाइल्स पारखीहरूको उल्लेख्य सहभागिता देखिएको थियो ।
कम्पनीका अनुसार नेपालभर १,५०० भन्दा बढी युनिट बिक्री भइसकेको OMODA E5 को सफलतालाई निरन्तरता दिन थप परिष्कृत र अत्याधुनिक सुविधासहित OMODA E5 Pro बजारमा ल्याइएको हो । नेपाली सडक र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै डिजाइन गरिएको यस गाडीमा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १८ इन्चको आकर्षक अलोय ह्विल जडान गरिएको छ, जसले कर्णालीका चुनौतीपूर्ण सडकमा समेत सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ
।
नयाँ E5 Pro मा ५०.७ kWh क्षमताको ब्याट्री प्याक, ९९ kW क्षमताको इलेक्ट्रिक मोटर तथा २८८ Nm टर्क रहेको छ। यसले एकपटकको पूर्ण चार्जमा ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ ।
फ्युचरिस्टिक डिजाइनमा तयार गरिएको गाडीमा आकर्षक फ्रन्ट फेसिया, ‘Phantom Wing’ टेललाइट, प्रिमियम इन्टेरियर, इलेक्ट्रिक सनरुफ, ड्राइभर मसाज सिट तथा ८ वटा Sony स्पिकरसहितको उच्चस्तरीय अडियो सिस्टम जडान गरिएको छ। साथै १५.६ इन्चको वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्लेले गाडीलाई अझ आधुनिक बनाएको छ ।
सुरक्षाको दृष्टिले पनि E5 Pro निकै उन्नत रहेको कम्पनीको भनाइ छ। यसमा १९ भन्दा बढी Advanced Driver Assistance System (ADAS) फिचर तथा ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली समावेश गरिएको छ ।
कम्पनीले सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर सार्वजनिक भएको अवसरमा एक दिनका लागि विशेष छुटस्वरूप ४९ लाख ९९ हजार रुपैयाँमै गाडी उपलब्ध गराउने घोषणा गरिएको छ ।
यो विशेष अफर अन्तर्गत बुकिङ गर्ने ग्राहकहरूले मूल्य छुटका साथै एक वर्षको अटो प्लस इन्स्योरेन्स सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । नयाँ OMODA E5 Pro सुर्खेतको एयरपोर्ट चोकस्थित आधिकारिक शोरूममा टेस्ट ड्राइभ तथा बुकिङका लागि उपलब्ध भइसकेको छ ।







