२०८२ चैत १२ , बिहीबार

वनगाडकाे चार करोडभन्दा बढी बजेट संशोधन



सल्यान । वनगाड कुपिण्डे नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु आर्थिक वर्षका नीति, कार्यक्रम तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले करिब चार करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको बजेट व्यवस्थापन तथा संशोधन गर्ने निर्णय गरेको छ । नगरप्रवक्ता धनबहादुर पुनका अनुसार सभाबाट विभिन्न ऐन तथा कार्यविधिहरू पनि पारित गरिएको छ । नगरसभाको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पूर्वमन्त्री भीम प्रकाश शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै शर्माले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रदेशसभाबाट बनेका ऐनकानुन कार्यान्वयनका क्रममा स्थानीय तहमा देखिएका समस्याबारे प्रदेशसभामा छलफल गर्न सकिने उनले उल्लेख गरे । उनले आवश्यक परे स्थानीय तहले प्रदेश सरकारलाई लिखित रूपमा जानकारी गराएर सहकार्य र समन्वयमार्फत विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा पनि जोड दिए । साथै जनप्रतिनिधि र नागरिकबीच विश्वासको वातावरण बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए । नगरसभामा नगरप्रमुख कर्णबहादुर बुढाथोकीले विभिन्न ऐन तथा कार्यविधि पेश गरेका थिए भने उपप्रमुख पुरुषोत्तम आचार्यले चालु आर्थिक वर्ष २०८२÷०८३ का योजना तथा कार्यक्रम संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको जनाइएको छ । नगरप्रमुख बुढाथोकीले समयमै योजना कार्यान्वयन गर्न तथा समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिन बजेटमा आवश्यक संशोधन गरिएको बताए । सेवा प्रवाह र विकास निर्माणका कार्यलाई थप व्यवस्थित बनाउन विभिन्न ऐन तथा कार्यविधि सभामा पेश गरिएको उनको भनाइ छ । ती ऐन तथा कार्यविधि पारित भएसँगै स्थानीय शासन प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । अधिवेशनमा वक्ताहरूले स्थानीय तहको समग्र विकास, सुशासन, पारदर्शिता र जनसेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए ।

नगरपालिकाभित्रका सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न ‘सुस्वा’ परियोजनामार्फत खानेपानी विस्तार गर्ने योजना अघि बढाइएको जानकारी पनि दिइएको छ । नगरप्रमुख कर्णबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, नगरसभा सदस्य तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार