२०८३ मंसिर ४ , शुक्रबार

भारतमा थप ६१५ मेगावाट विद्युत् निर्यात गर्न नेपाललाई अनुमति



काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ६१५.३४ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न तथा सेती खोला जलविद्युत् आयोजनाको थप २१.३४ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको हो।

यससँगै भारतमा विद्युत् निर्यातका लागि नेपालले पाएको कुल स्वीकृत क्षमता १ हजार १९८ मेगावाट पुगेको छ। यद्यपि, आगामी हिउँदयाममा आन्तरिक माग व्यवस्थापनका लागि भारतबाट १ हजार ४ मेगावाट विद्युत् आयात गर्ने अनुमति पनि नेपालले पाइसकेको छ।

प्राधिकरणका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते ५९४ मेगावाट विद्युत् आईएक्सको डे-अहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न स्वीकृति दिएको हो। उक्त विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि २०२७ जुन १४ सम्म निर्यात गर्न सकिनेछ।

स्वीकृत विद्युत्मध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत निर्यात हुनेछ। बाँकी ३८९ मेगावाट भने ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत भारत पठाइनेछ।

नेपाल विद्युत् प्राधिकरण र भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार नेपालले हरेक वर्ष जुनदेखि अक्टोबरसम्म हरियाणा र बिहारमा विद्युत् निर्यात गर्दै आएको छ। चालु वर्षका लागि उक्त सम्झौताअन्तर्गत विद्युत् निर्यात गर्ने अवधि अक्टोबर ३१ मा समाप्त भएको थियो।

त्यसपछि वैकल्पिक बजारका रूपमा भारतीय ऊर्जा एक्सचेन्जमा विद्युत् बिक्री गर्न प्राधिकरणले निर्यातयोग्य आयोजनाको सूची भारतीय निकायमा पठाएको थियो। निरन्तर पहलपछि ५९४ मेगावाट विद्युत् बिक्रीको अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न सकिनेछ।

प्राधिकरणले आन्तरिक खपतबाट बचत हुने वर्षायामको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्दै आएको छ। माग र बजार मूल्यअनुसार विद्युत् बिक्री गर्न सकिने भएकाले आईएक्सलाई द्विपक्षीय सम्झौताबाहेकको वैकल्पिक बजारका रूपमा उपयोग गरिएको प्राधिकरणले जनाएको छ।

यसैगरी, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको छ। उक्त विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि २०२७ अगस्ट ३१ सम्म भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न सकिनेछ।

नेपालले वर्षायाममा आन्तरिक मागभन्दा बढी उत्पादन हुने विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। तर, हिउँदयाममा नदीमा पानीको बहाव घटेसँगै जलविद्युत् उत्पादन कम हुने भएकाले भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ।

वर्षायाममा विद्युत् निर्यात र हिउँदयाममा आयात गर्नुपर्ने नेपालको अवस्थाले क्षेत्रीय विद्युत् व्यापार, प्रसारण लाइन विस्तार र ऊर्जा बजारको विविधीकरणको आवश्यकतालाई थप उजागर गरेको छ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार