सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को भदौ १६ गते बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
विपद्बाट प्रभावित नागरिकको जनजीवन प्रभावित बनेपछि विभिन्न निकायबाट राहत तथा उद्धारका प्रयास भइरहेका छन् । कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकप्रति सहानुभूति तथा ऐक्यबद्धता प्रकट गरेको छ । संकटका बेला प्रदेश तथा स्थानीय तहबीच सहयोग र सहकार्य आवश्यक रहेको भन्दै सरकारले आफ्नो तर्फबाट राहत तथा पुनःस्थापनामा योगदान गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने दुई करोड रुपैयाँ प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा आवश्यक व्यवस्थापनमा प्रयोग हुने अपेक्षा गरिएको छ । कर्णाली सरकारको उक्त निर्णयले प्राकृतिक विपद्का बेला प्रदेशहरूबीचको सहकार्य र मानवीय सहयोगलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।









