डोल्पा । जिल्लाकाे प्रसिद्ध शक्तिपीठ श्री बाला त्रिपुरा सुन्दरी भगवती मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३ सुरु भएको छ । भाद्र १५ देखि २२ गतेसम्म सञ्चालन हुने महायज्ञ धार्मिक आस्था, संस्कृति संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । महायज्ञ सुरु हुनुअघि मन्दिरको हरिकीर्तन प्राङ्गणबाट पञ्चेबाजासहित भव्य शोभा कलश यात्रा निकालिएको थियो ।
कलश यात्रामा सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, भक्तजन, शिक्षक–विद्यार्थी, महिला तथा आमा समूह र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । मन्दिरबाट सुरु भएको कलश यात्रा त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न बस्ती हुँदै बगरबजार, नयाँबस्ती र सिम भएर भैरवी र ताम्राबणी नदीको संगमस्थल छलगाड पुगेको थियो । त्यहाँ धार्मिक विधिअनुसार पवित्र जल संकलन गरी कलशसहित मन्दिरमा फर्किएर महायज्ञस्थलमा स्थापना गरिएको थियो ।
महायज्ञको उद्घाटन प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, पूर्वसभासद बदमी क्वारी बुढा, मूल आयोजक समितिका अध्यक्ष टंकप्रसाद उपाध्याय, त्रिपुरा सुन्दरी अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्याय र प्रमुख कथावाचक पण्डित ईश्वर रेग्मीले संयुक्त रूपमा गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले महायज्ञले बाला त्रिपुरा सुन्दरी मन्दिरको धार्मिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सहयोग पुग्ने बताइन् ।
आयोजकले महायज्ञबाट विश्वशान्ति, धार्मिक जागरण तथा मन्दिरको विकासमा योगदान पुग्ने जनाएको छ । महायज्ञमा श्रीमद् भागवत कथा प्रवचन, धनधान्याचल, पितृमोक्ष, शालग्राम पूजाअर्चना, भजन–कीर्तन, झाँकी, नृत्य तथा विभिन्न धार्मिक अनुष्ठान सञ्चालन हुनेछन् । डोल्पामै पहिलोपटक श्रृङ्गारिक महाआरतीसमेत गरिने आयोजकले जनाएको छ । महायज्ञलाई मन्दिरको भौतिक पूर्वाधार विकास तथा धार्मिक पर्यटनसँग जोडिएको छ । भाद्र २२ गते पूर्णाहुति तथा यज्ञ विसर्जनसँगै महायज्ञ सम्पन्न हुनेछ ।









