सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको ९१औँ कार्यपालिका बैठकले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरप्रमुख मोहनमाया भण्डारी ढकालले नगरपालिकाले विपद्को समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरेको जानकारी दिइन् । उनका अनुसार नगरपालिकाले उपलब्ध गराउने ५१ लाख रुपैयाँ नगर विपद् व्यवस्थापन कोषबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । उक्त रकम बाढी प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको छ ।
नगरप्रमुख ढकालले विपत्तिको समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताइन् । उनले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोरेका नागरिकको साथमा स्थानीय सरकारसमेत उभिनुपर्ने भएकाले सहयोगको निर्णय गरिएको उल्लेख गरिन् । भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
बाढीका कारण सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेपछि प्रभावित नागरिकको उद्धार र राहतका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट सहयोग जुटाउने क्रम जारी छ । वीरेन्द्रनगर नगरपालिकाले पनि विपद्को यस कठिन परिस्थितिमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । नगरपालिकाको सहयोगले बाढीपीडितको तत्कालीन राहत तथा पुनःस्थापनामा केही सहजता पुग्ने विश्वास गरिएको छ ।









