२०८३ असोज २१ , बुधबार
फ्रन्ट पेज

कर्णाली सरकारले बनायो नौ वर्षमा ७५ वटा मोटरेवल र १७३ वटा झोलुङ्गे पुल



सुर्खेत ।  कालीकोटको खाँडाचक्र नगरपालिका–२ झाम्लामोडदेखि शुभकालिका गाउँपालिका–२ छहरा जोड्ने झोलुङ्गे पुल बनेपछि पोरीपाल्नीका विद्यार्थी सुबास विकको विद्यालय पुग्ने समय करिब एक घण्टा घटेको छ । पुल नहुँदा सेरिघाटको पक्की पुल हुँदै घुमाउरो बाटोबाट मान्म पुग्नुपर्नेमा अहिले झोलुङ्गे पुलबाट छोटो बाटो भएको छ ।

‘पहिला त घरबाट विद्यालय पुग्न डेढ घण्टासम्म पैदल हिँड्नुपथ्र्यो,’ सुबास भन्छन्, ‘अहिले ४०–४५ मिनेटमै स्कुल पुगिन्छ ।’ उनीसँगै पोरीपाल्नीबाट मान्ममा कक्षा ९ र १० पढ्न जाने विद्यार्थीलाई पुल बनेपछि सहज भएको छ । खाडाचक्र–१ का वडाध्यक्ष धर्मराज ताम्राकारका अनुसार तिलानदीमाथिको झाम्लामोड झोलुङ्गे पुलले नदी–खोला पार गर्न र डाँडाकाँडा जोड्न स्थानीयलाई सहज बनाएको छ । करिब ६ सय मिटर लामो उक्त पुल कालीकोटमा निर्माण भएका झोलुङ्गे पुलमध्ये लामो दूरीमा बनेको पुलमध्ये एक हो ।

कर्णाली प्रदेश सरकार गठन भएयता सडक र झोलुङ्गे पुल निर्माणमा भएको लगानीको प्रभाव स्थानीय तहमा देखिन थालेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेश सरकारको कार्यक्रमअन्तर्गत आव २०८२/८३ को अन्त्यसम्म ७५ वटा मोटरेवल पुल र १७३ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकार गठन भएको २०७४ फागुन ४ देखि हालसम्म निर्माण भएका पुलको संख्या २४८ पुगेको हो । मन्त्रालयको तथ्यांकअनुसार आव २०८१/८२ सम्म ५३ वटा सडक पुल निर्माण भएकामा गत आवमा थप २२ वटा बनेका छन् । झोलुङ्गे पुल भने १२५ बाट बढेर १७३ पुगेका छन् ।

जुम्लाको सिञ्जा गाउँपालिका–२ रनुखानामा बनेको झोलुङ्गे पुल पनि स्थानीयको लामो घुमाउरो बाटोको विकल्प बनेको छ । ७२ मिटर लामो पुलबाट करिब चार सय घरपरिवार लाभान्वित भएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । पुल निर्माण भएपछि स्थानीय विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले बताए । उनका अनुसार पुल नहुँदा स्थानीय र विद्यार्थीलाई यात्रा गर्न समस्या थियो ।

‘पुल बनेपछि घुमाउरो र लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ,’ वडाध्यक्ष वडले भने । पुलले वडा कार्यालयअन्तर्गतका चुलेलगाउँ, विष्टबाडा र रनुखानाका विद्यार्थीलाई समेत आवतजावतमा सहज बनाएको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहका अनुसार कार्यालयको ५५ लाख रुपैयाँ लगानीमा उपभोक्ता समितिमार्फत पुल निर्माण भएको हो । उनका अनुसार पुलबाट चार सय घरपरिवारसँगै त्यहाँ आउने–जाने अन्य व्यक्ति पनि लाभान्वित भएका छन् ।

गत आर्थिक वर्षमा मात्रै कर्णालीमा ४८ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै हुम्लामा १० वटा बने । दैलेख र डोल्पामा सात/सात, कालीकोटमा छ, सुर्खेत र जुम्लामा पाँच/पाँच, मुगु र सल्यानमा तीन/तीन तथा जाजरकोट र रुकुम पश्चिममा एक÷एक वटा झोलुङ्गे पुल निर्माण भएका हुन् । सोही आर्थिक वर्षमा २२ वटा सडक पुल निर्माण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर वलीका कार्यक्रमगत विवरणअनुसार आव २०८२/८३ मा झोलुङ्गे पुल निर्माणका लागि ३९ करोड ३५ लाख ६० हजार रुपैयाँको अन्तिम बजेट थियो । त्यसमध्ये २६ करोड ७२ लाख ९४ हजार रुपैयाँ खर्च भएको उनले बताए । सडक मोटरेबल पुलका लागि १ अर्ब १५ करोड ४१ लाख रुपैयाँ अन्तिम बजेट रहेकामा ५३ करोड ९१ लाख ५ हजार ९३० रुपैयाँ खर्च भएको उनले जानकारी दिए । झोलुङ्गे पुलतर्फ प्रदेश सरकारले ५२ वटा निर्माण गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये ४८ वटा निर्माण भएका छन् । सडक पुलतर्फ ४३ वटा निर्माण गर्ने लक्ष्य रहेकामा २२ वटा सम्पन्न भएका छन् ।

कर्णालीमा पुल निर्माणको एउटा प्रमुख उद्देश्य तुइन विस्थापन पनि हो । प्रदेश सरकारले आव २०८२/८३ मा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । २०८२ साउनमा पूर्वाधार विकास कार्यालयमार्फत संकलन गरिएको विवरणअनुसार प्रदेशका सात जिल्लाबाट ५० वटा तुइनको विवरण मन्त्रालयमा पुगेको थियो । हुम्लामा १५, कालीकोट र जाजरकोटमा १२/१२, सुर्खेतमा आठ, डोल्पामा तीन तथा दैलेख र मुगुमा दुई/दुई तुइन रहेको विवरण छ ।

तुइन विस्थापित भएपछि हुम्लाको खार्पुनाथ गाउँपालिकामा बनेको लिगे झोलुङ्गे पुलले स्थानीयको दैनिकी फेरिएको छ । खार्पुनाथ–१ र २ जोड्ने लालीबगरको लिगेमा कर्णाली नदीमाथि पुल निर्माण भएपछि त्यहाँ सञ्चालनमा रहेको तुइन विस्थापित भएको छ । खार्पुनाथ–२ का वडाध्यक्ष चन्द्र रावलले पुल सञ्चालनमा आएपछि ठूलो समस्या समाधान भएको बताएका छन् । ‘तुइनबाट कर्णाली नदी तरेर वारपार गर्न निकै जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो,’ रावलले भने । नयाँ पुल सञ्चालनमा आएपछि दुई वडाका सात सयभन्दा बढी स्थानीय तथा कर्मचारी लाभान्वित भएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर झुलबहादुर शाहीले बताए ।

लिगेमा यसअघि रहेको झोलुङ्गे पुल २०७८ सालमा कर्णाली करिडोरअन्तर्गत दुल्लीकुना–लालीबगर सडक निर्माणका क्रममा भत्किएपछि गाउँपालिकाले तुइन सञ्चालनमा ल्याएको थियो । त्यसपछि स्थानीयले त्यही तुइनबाट कर्णाली नदी वारपार गर्दै आएका थिए । नयाँ पुल निर्माण भएपछि तुइन विस्थापित भएको हो । यस्तै, सल्यानमा निर्माण भएका पुलले पनि सडकले नछोटो बनाएको दूरी छोट्याउने काम गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–६ राउचेका बालबालिकाका लागि बन्गाड खोलामाथि स्टिल पुल बनेपछि विद्यालय आउजाउ सहज भएको छ । पूर्वाधार विकास कार्यालय सल्यानले आव २०८१/८२ मा ५२ लाख रुपैयाँ खर्च गरेर करिब ५० मिटर लामो पुल निर्माण गरेको थियो । पुल बन्नुअघि वर्षायाममा राउचेका सयभन्दा बढी विद्यार्थी जोखिम मोलेर खोला पार गरी विद्यालय जान्थे ।

पुल निर्माण समितिका अध्यक्ष नीमराज सुनारका अनुसार वर्षाको समयमा साउन र भदौ दुई महिना बनगाड खोलामा पानीको सतह उच्च हुने भएपछि राउचेका अभिभावक छोराछोरीलाई विद्यालय छाड्न खोलासम्म आउने गर्थे । ‘अभिभावक आउन नभ्याएको बेला स्थानीयले स–साना बालबालिकालाई बोकेर खोला तराउने गर्थे तर अहिले त्यस्तो छैन,’ उनले भने । स्थानीय सुशीला विकका अनुसार पुल बनेपछि राउचेका बालबालिका वर्षाका कारण विद्यालय छुटाउनुपर्ने अवस्थाबाट जोगिएका छन् ।

उनका अनुसार दैनिक करिब सय विद्यार्थी पुल तरेर विद्यालय जाने गरेका छन् । अभिभावक रेसमबहादुर खत्रीले पनि पुल बनेपछि बालबालिकालाई आधा बाटोसम्म छाड्न जानुपर्ने बाध्यता हटेको बताएका छन् । कालीमाटी गाउँपालिका–२ झिंगानेका शेरबहादुर ओलीले पनि पुल बनेपछि विद्यालय, बजार र स्वास्थ्य संस्थासम्म पुग्न सहज भएको बताएका छन् । पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सिद्धार्थ मिश्रका अनुसार प्रदेश सरकार गठन भएयता जिल्लामा २१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । सल्यानमा नयाँ र पुराना गरी १५० भन्दा बढी झोलुङ्गे पुल रहेको जनाएको छ ।

तर पुल निर्माणको संख्या बढ्दै गए पनि निर्माण भएका संरचनाको संरक्षण र मर्मतमा पनि ढिलाई हुँदा स्थानीयलाई सास्ती पनि भएको छ । सल्यान र जाजरकोटको सीमामा पर्ने भेरी नदीमाथिको १५७ मिटर लामो झोलुङ्गे पुल २०७९ असोजमा पहिरोका कारण भासिएपछि चार वर्ष पुग्न लाग्दा पनि पुनर्निर्माण हुन सकेको छैन । बन्गाड कुपिण्डे नगरपालिका–२ का चार बस्तीका स्थानीय त्यही जीर्ण पुलबाट जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।

पुल निर्माणको समग्र प्रगति हेर्दा पछिल्ला दुई आर्थिक वर्षमा मात्रै ७५ वटा सडक पुल र ८२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । अर्थात् प्रदेश सरकार गठन भएयता निर्माण भएका २४८ पुलमध्ये १५७ वटा पुल पछिल्ला दुई वर्षमा बनेका हुन् । यस अवधिमा पुलसँगै प्रदेश सरकारले सडक पूर्वाधारमा पनि लगानी बढाएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेश सरकार गठन भएयता आव २०८२÷८३ को अन्त्यसम्म ३४५ किलोमिटर सडक कालोपत्रे, ८२२ किलोमिटर ग्राभेल र ३ हजार ४१७ किलोमिटर माटे सडक निर्माण भएको छ ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार