सुर्खेत । नेपालको विकास, व्यापार तथा पारवहन पूर्वाधार विस्तारमा भारतसँगको निर्भरता र सम्भावनालाई नयाँ ढंगले अघि बढाउने सहमतिसहित प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । भ्रमणका क्रममा भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग घोषणा गरेको छ भने व्यापारका लागि नयाँ बन्दरगाह पहुँच, हवाई तथा रेल सम्पर्क विस्तार र ऊर्जा पूर्वाधारमा सहकार्य गर्ने सहमति भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री शाहले नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गरेका थिए । दुवै नेताबीच दुई देशको सम्बन्ध, आर्थिक साझेदारी, विकास सहयोग, क्षेत्रीय विषय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको नेपाल र भारतका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री शाहको पदभार ग्रहणपछिको यो पहिलो द्विपक्षीय भारत भ्रमण हो ।
भ्रमणको सबैभन्दा ठूलो आर्थिक घोषणा भारतले नेपाललाई उपलब्ध गराउने २४ हजार करोड रुपैयाँको विकास सहयोग हो । भारतले यो रकममध्ये पाँच हजार ६ सय करोड रुपैयाँ अनुदानका रूपमा दिनेछ । बाँकी १८ हजार चार करोड रुपैयाँ ऊर्जा क्षेत्रका आयोजनाका लागि भारतीय रुपैयाँमा आधारित ऋण सहायता (लाइन अफ क्रेडिट) हुनेछ । विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार निर्माणमा अनुदान खर्च गर्ने तथा ऊर्जा आयोजनामा ऋण परिचालन गर्ने भारतको प्रस्ताव छ । कुन आयोजनामा कति रकम खर्च गर्ने र सहयोग उपलब्ध गराउने प्रक्रिया भने दुवै देशबीचको परामर्शबाट टुंगो लगाइने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
यो सहयोगको घोषणा नेपालमा आएको बाढी र पहिरोबाट भएको क्षतिपछिको पुनर्निर्माणसँग पनि जोडिएको छ । गत अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको थियो । भारतले त्यसबेला उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरेका थिए । नयाँ सहयोग प्याकेजले पुनर्निर्माणसँगै ऊर्जा पूर्वाधार विकासमा समेत भारतीय लगानी तथा सहकार्यको दायरा बढाउने अपेक्षा गरिएको छ । तर ऋण र अनुदानको अनुपात हेर्दा सहयोगको ठूलो हिस्सा ऋण भएकाले त्यसको उपयोग, प्रतिफल र भुक्तानी व्यवस्थापन नेपालको आर्थिक हितअनुकूल हुनुपर्ने चुनौती पनि छ ।
भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि पारवहन पहुँच विस्तार हो । भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) हुँदै नेपालको पारवहन व्यापारका लागि नयाँ पहुँच उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै, आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहको पहुँच पनि नेपाललाई उपलब्ध गराइने भएको छ । यसले नेपालको समुद्री व्यापारका लागि वैकल्पिक मार्ग विस्तार गर्ने सम्भावना खोलेको छ । यद्यपि पारादीपको पहुँच तत्काल कार्यान्वयनमा आउने नभई आवश्यक पूर्वाधार तयार भएपछि मात्रै उपलब्ध हुनेछ ।
हवाई सम्पर्क विस्तारमा पनि सहमति भएको छ । हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ बी–३४५ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने निर्णय दुई देशले गरेका छन् । यसका लागि प्राविधिक परामर्श गरी आवश्यक प्रक्रिया टुंग्याइनेछ । यो मार्ग दुवैतर्फ सञ्चालनमा आएमा नेपालका विमानलाई भारतीय आकाश हुँदै उडान गर्न थप सहज हुने र भैरहवा विमानस्थलको अन्तर्राष्ट्रिय उडान सम्भावना विस्तार गर्न सहयोग पुग्न सक्छ । धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि अयोध्या–जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा पनि सुरु गरिएको छ । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् । यसले रामायण सर्किटसँग जोडिएका धार्मिक स्थलबीच आवागमन सहज बनाउने र अयोध्या तथा जनकपुरको धार्मिक पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ । बौद्ध तथा शिवशक्ति धार्मिक स्थलबीच पनि सम्पर्क विस्तार गर्न दुवै पक्षले सहकार्य गर्ने भएका छन् ।
रेल पूर्वाधारतर्फ रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा भ्रमणको अर्को महत्वपूर्ण पक्ष हो । साथै नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा भारतले सहकार्य गर्ने सहमति भएको छ । सर्वेक्षण सम्पन्न हुनु निर्माण सुरु हुनु होइन । त्यसैले रेलमार्गको विस्तृत अध्ययन, लगानीको ढाँचा र निर्माण प्रक्रिया अघि बढेपछि मात्रै यसको वास्तविक प्रगति देखिनेछ । ऊर्जा क्षेत्रमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । अरुण–३ आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि भारतले जनाएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई शीघ्र अन्तिम रूप दिने र सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययनलाई तीव्रता दिने सहमति भएको छ । यी आयोजना अघि बढेमा जलविद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण र जलस्रोतको उपयोगमा दुई देशबीच सहकार्य विस्तार हुन सक्छ ।
पेट्रोलियम आपूर्ति तथा भण्डारण पूर्वाधारमा पनि सहकार्य अघि बढाइएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको छ । झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शिलान्यास भएको छ भने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको काम शीघ्र सुरु गर्न दुवै पक्षले जोड दिएका छन् । भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्यको सम्भावना खोज्ने सहमतिसमेत भएको छ । शिक्षा, प्रविधि र संस्थागत क्षमता विकासका क्षेत्रमा भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने भएको छ । स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापनामा सहकार्य गर्ने तथा चितवनमा अनुदान सहयोगमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणा पनि भएको छ । नेपाली विद्यार्थीलाई भारतमा कानुन तथा प्रविधि विषयमा छात्रवृत्तिको अवसर विस्तार गर्ने सहमति भएको छ ।
भ्रमणका क्रममा दुई देशबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । ती समझदारी फरेन्सिक विज्ञान तथा अनुसन्धान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपन्छी तथा मत्स्य विकाससँग सम्बन्धित छन् । यसले विकास सहकार्यलाई भौतिक पूर्वाधारमा मात्र सीमित नराखी संस्थागत तथा प्राविधिक क्षेत्रमा समेत विस्तार गर्ने आधार तयार गरेको छ । सीमा पूर्वाधार विस्तारमा धार्चुला–दार्चुला मोटरेबल पुलको उद्घाटन गरिएको छ । भारतको बनबासामा एकीकृत जाँच चौकी निर्माणको शिलान्यास भएको छ भने नेपालतर्फ दोधारा–चाँदनी एकीकृत जाँच चौकी निर्माणलाई तीव्रता दिने सहमति भएको छ ।
भैरहवा र सुनौलीसहितका एकीकृत जाँच चौकी निर्माणमा भएको प्रगतिलाई पनि दुवै देशले स्वागत गरेका छन् । सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त कामलाई निरन्तरता दिने र बाँकी सीमा समस्यामा परराष्ट्र सचिवहरूले काम गर्ने सहमति भएको छ । भ्रमणका क्रममा दुई देशले ‘विकसित भारत र समुन्नत नेपाल’ नामको संयुक्त दृष्टिपत्रसमेत जारी गरेका छन् । यसले आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा र जलस्रोत, जनस्तरको सम्बन्ध, जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनलाई भावी सहकार्यका प्राथमिकताका रूपमा समेटेको छ । यो दस्तावेज दुई देशबीचको सम्बन्धलाई बदलिँदो आर्थिक तथा प्राविधिक आवश्यकताअनुसार अघि बढाउने मार्गचित्रका रूपमा आएको छ ।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ । यसले आगामी दिनमा दुई देशबीच उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिने संकेत गरेको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा आर्थिक सहयोग, व्यापारिक पारवहन, ऊर्जा र पूर्वाधारका क्षेत्रमा नयाँ सम्भावना खोलेको छ । तर भ्रमणमा भएका घोषणा र सहमतिलाई उपलब्धिमा रूपान्तरण गर्न दुवै देशले समयसीमा, लगानीको सुनिश्चितता र कार्यान्वयन संयन्त्र स्पष्ट बनाउनुपर्नेछ । विशेषगरी ऋण सहायताबाट सञ्चालन हुने आयोजनाको आर्थिक प्रतिफल, पारवहन सुविधाको व्यावहारिक उपयोग र लामो समयदेखि चर्चामा रहेका जलविद्युत् तथा रेल आयोजनाको प्रगतिले नै भ्रमणको वास्तविक सफलता निर्धारण गर्नेछ ।






