२०८३ मंसिर ६ , आइतबार
फ्रन्ट पेज

रोजगारीको खोजीमा रित्तिँदै जुम्लाका गाउँ

गाउँमा रोजगारी र आम्दानीको आधार नहुँदा उत्पादनशील उमेरका युवा भारत पलायन, खेतीपातीदेखि बालबालिकाको शिक्षासम्म प्रभावित


जुम्ला । जुम्लाका गाउँमा यतिबेला उत्पादनशील उमेरका युवा भेटिन मुस्किल हुन थालेको छ । रोजगारी र आम्दानीको भरपर्दो आधार नहुँदा युवाहरू भारतको कालापहाडतिर लागेपछि गाउँमा बूढाबूढी, महिला र बालबालिका मात्रै देखिन थालेका छन् । दसैँ तिहार सकिएसँगै सुरु हुने कालापहाड यात्राले हरेक वर्ष जुम्लाका गाउँ रित्तिँदै गएका छ ।

असोज–कात्तिक लागेपछि रोजगारीको खोजीमा गाउँ छाड्ने युवाको लर्को लाग्छ। कोही मजदुरी गर्न त कोही सानोतिनो व्यापार गरेर परिवारको जीविकोपार्जन गर्न भारत पुग्छन्। गाउँमै बसेर केही गर्ने चाहना हुँदाहुँदै पनि आम्दानीको विकल्प नहुँदा उनीहरू बाध्यताले कालापहाड जानुपरेको बताउँछन्।

पातारासी गाउँपालिका–२ का खड्कबहादुर ऐडीका लागि यो कुनै नयाँ यात्रा होइन। उनी हरेक वर्ष रोजगारीको खोजीमा भारत पुग्छन्। गाउँमा काम र आम्दानीको भरपर्दो अवसर नहुँदा परिवारको खर्च जुटाउन भारत जानुको विकल्प नभएको उनको भनाइ छ । ‘कालापहाड रहर होइन, यो त बाध्यता हो,’ उनले भने। उनीसहित पातारासीका सयौँ युवा कामको खोजीमा भारत पुगेका छन् ।

सिंजा गाउँपालिका–५ का मुनबहादुर बुढाको कथा पनि उस्तै छ। रोजगारीको खोजीमा उनी गत कात्तिक पहिलो सातामै कालापहाड लागे। चार दिदीबहिनीका एक्ला दाजु उनले यसपालि बहिनीहरूसँग भाइटीका समेत लगाउन पाएनन्। गाउँमै बसेर केही गर्ने चाहना भए पनि परिवारको जीविकोपार्जनका लागि भारत जानुपरेको उनी बताउँछन्। ‘गाउँमा बसेर केही काम गर्ने चाहना त थियो, तर परिवार पाल्नैपर्ने भएपछि भारत जानुपर्ने बाध्यता बन्यो,’ उनले भने।

जुम्लाका गाउँमा पर्याप्त आम्दानी हुने काम छैन। खेतीपातीबाट मात्रै परिवारको खर्च धान्न कठिन छ। त्यसैले उत्पादनशील उमेरका युवा वर्षको अधिकांश समय घरबाहिर बिताउन बाध्य छन्। ‘गाउँका थुप्रै युवा रोजगारीको खोजीमा कालापहाड पस्ने गरेका छन्,’ मुनबहादुरले भने।

सिंजाकै दलबहादुर र राजेश बुढा दाजुभाइ हुन्। घरको खेतीपातीले परिवारको आवश्यकता पूरा गर्न नसकेपछि उनीहरू पनि मजदुरीका लागि भारत पुगेका छन्। ‘भारत नगएर घरमै बस्ने हो भने बालबालिका पढाउन र परिवार पाल्न कठिन छ। घरको खेतीपातीले छ महिना पनि राम्रोसँग खान पुग्दैन,’ दलबहादुरले भने, ‘त्यही भएर हरेक वर्ष कालापहाड यात्रा गर्नुपरेको छ।’

जुम्लाका सिंजा, हिमा, कनकासुन्दरी, तिला, तातोपानी, गुठीचौर र पातारासीका युवा अहिले रोजगारीका लागि भारत पुगेका छन्। केहीले दसैँ सकिएलगत्तै गाउँ छाडिसकेका छन् भने अधिकांश भारत जाने तयारीमा छन्। स्थानीयका अनुसार पछिल्लो समय दैनिक दुईदेखि चार समूहसम्म गाउँबाट बाहिरिने गरेका छन्।
तिला गाउँपालिका–९ का दलजीत बुढा गाउँमा काम र आम्दानीको भरपर्दो स्रोत नहुँदा युवाहरू कालापहाड जान बाध्य भएको बताउँछन्। उनका अनुसार अहिले जुम्लाका युवाको रोजीरोटीको मुख्य आधार नै कालापहाड बनेको छ। त्यहाँ केहीले मजदुरी गर्छन् भने केहीले व्यापार गरेर आम्दानी गर्छन्।

युवा पलायनले गाउँको दैनिकी प्रभावित

युवाहरू बाहिरिएपछि गाउँको दैनिकीसमेत प्रभावित हुन थालेको छ। खेतबारीमा काम गर्ने जनशक्तिको अभाव देखिन थालेको छ। खेतीपातीदेखि विकास निर्माण, सामाजिक गतिविधि र सामुदायिक कामसम्म प्रभावित भइरहेका छन्। गाउँमा भेडीगोठाला, बूढाबूढी, महिला र बालबालिका मात्रै भेटिन थालेका छन्। उत्पादनशील उमेरका नागरिक बाहिरिँदा सामाजिक तथा पारिवारिक जीवनमा समेत असर परेको स्थानीय बताउँछन्।

स्थानीय ददिमल बुढाका अनुसार गाउँगाउँमा स्थानीय सरकार भए पनि नागरिकले भरपर्दो रोजगारी पाउन सकेका छैनन्। ‘सीपमूलक तालिम, आयआर्जन र रोजगारीका नाममा करोडौँ खर्च देखिन्छ, तर त्यसको उपलब्धि शून्य छ,’ उनले भने। गाउँमै आम्दानीको भरपर्दो आधार तयार नहुँदा परिवार पाल्न भारत जानुपर्ने बाध्यता कायम रहेको उनको भनाइ छ।

विद्यार्थीको पढाइसमेत प्रभावित

कालापहाड यात्राको असर घरपरिवार र गाउँको अर्थतन्त्रमा मात्रै सीमित छैन। यसले बालबालिकाको शिक्षालाई समेत प्रभावित पारेको छ। अभिभावकसँगै कतिपय विद्यार्थी पनि मजदुरीका लागि भारत जाने गरेका छन्। यसले विद्यालयमा नियमित उपस्थितिदेखि सिकाइ प्रक्रियासम्म असर पार्ने गरेको शिक्षाका सरोकारवालाहरू बताउँछन्।
सिंजा गाउँपालिकाका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शंकर धितालका अनुसार हरेक हिउँदमा भारत जाने क्रम यहाँ परम्पराकै रूपमा विकास भएको छ।

अभिभावकसँगै विद्यार्थी पनि भारत जाने भएकाले यो समयमा विद्यालयमा उनीहरूको नियमित उपस्थिति घट्ने गरेको छ। ‘अभिभावकसँगै विद्यार्थी पनि मजदुरीका लागि भारत जान्छन्। उनीहरू विद्यालयमा पढ्न पाउँदैनन्। विद्यार्थी संख्यामा समेत कमी आउँछ। दुई महिना पढेका कुरा बिर्सिसकेका हुन्छन्,’ उनले भने।

युवा लक्षित कार्यक्रम आयआर्जनसँग जोडिएनन्

युवालाई गाउँमै रोक्न स्थानीय सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकेको गुनासो पनि उत्तिकै छ। युवा लक्षित कार्यक्रमका नाममा भलिबल तथा फुटबल वितरण र मनोरञ्जनात्मक गतिविधि सञ्चालन भए पनि त्यसले रोजगारी र आयआर्जनमा प्रत्यक्ष योगदान गर्न नसकेको स्थानीय जगतबहादुर रोकायाको भनाइ छ।

‘युवालाई लक्षित गरेर कार्यक्रम त भएका छन्। भलिबल वितरण गरिएको छ, फुटबल बाँडिएको छ, मनोरञ्जनात्मक कार्यक्रम पनि भएका छन्। तर अहिले भइरहेका गतिविधिले युवालाई गाउँमै रोक्न सक्ने अवस्था छैन,’ उनले भने।

उनका अनुसार युवालाई गाउँमै टिकाइराख्न प्रत्यक्ष आम्दानीसँग जोडिएका सीपमूलक कार्यक्रम आवश्यक छन्। गाउँमै रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने र युवालाई उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सके कालापहाड जाने बाध्यता कम गर्न सकिन्छ।
स्थानीय तहले हरेक वर्ष विभिन्न शीर्षकमा बजेट खर्च गरे पनि त्यसको प्रत्यक्ष लाभ युवाको आयआर्जनमा देखिन सकेको छैन। फलतः जुम्लाका उत्पादनशील जनशक्ति हरेक वर्ष गाउँ छाड्न बाध्य छन्।

उनीहरूको अनुपस्थितिले कृषि उत्पादन, बालबालिकाको शिक्षा, पारिवारिक सम्बन्ध र गाउँको सामाजिक जीवन प्रभावित भइरहेको छ। गाउँका युवा फर्किने र गाउँमै टिक्ने वातावरण बनाउन स्थानीय स्रोतसाधनमा आधारित रोजगारी, व्यावसायिक कृषि, पशुपालन तथा उद्यमशीलताको विकास गर्नुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : २०८३ मंसिर ६ गते आइतबार