२०८३ मंसिर ८ , मंगलबार
सम्पादकीय

पक्की पुल निर्माणको जग बसोस



सुर्खेतको रानीघाटमा भेरी नदीमाथि पक्की पुल निर्माण गर्ने सपना देखेको १४ वर्ष बितिसकेको छ। २०६९ सालमा शिलान्यास भएको पुलका दुईवटा जीर्ण पिलर नदीको बीचमा ठडिएका छन्, तर स्थानीयको जीवनस्तर बदल्ने पुल अझै बन्न सकेको छैन। पुल निर्माणको आशामा बसेका रानीघाट, सुगरखाल, श्रीचौर, तेलपानी र गाडापानीका नागरिकका लागि विकासको सपना अझै झोलुङ्गे पुलमै सीमित छ। एउटा पुल नबन्दा हजारौँ नागरिकले भोग्नुपरेको सास्ती सामान्य पूर्वाधार अभावको विषय मात्र होइन, यो राज्यको विकास व्यवस्थापन र जवाफदेहितामाथिको गम्भीर प्रश्न हो। बिरामीलाई डोको र स्ट्रेचरमा बोकेर नदी तार्नुपर्ने, सुत्केरीले समयमै स्वास्थ्य सेवा नपाउने, विद्यार्थीले उच्च शिक्षाका लागि कठिनाइ भोग्नुपर्ने र किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन नसक्ने अवस्था कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन। दैनिक उपभोग्य वस्तुसमेत महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यताले नागरिकको आर्थिक अवस्था थप कमजोर बनाएको छ।

रानीघाट पुलको महत्व स्थानीय आवागमनमा मात्र सीमित छैन। वीरेन्द्रनगर–मुलपानी–रानीघाट–तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने ५२ किलोमिटरको सडक सञ्चालनमा आउँदा कर्णाली र लुम्बिनी प्रदेशबीचको दूरी छोटिनेछ। व्यापार, पर्यटन, कृषि उत्पादनको बजारीकरण र अन्तरप्रदेशीय आवागमनमा नयाँ सम्भावना खुल्नेछ। तर, रणनीतिक महत्वको यो मार्गको मुख्य अवरोध नै पुल नबन्नु विडम्बनापूर्ण छ। १४ वर्षसम्म अलपत्र परेको आयोजना अब नयाँ पुल निर्माणको प्रक्रियामा अघि बढ्ने संकेत देखिनु सकारात्मक पक्ष हो। सडक विभागले नयाँ प्रविधिमा आधारित डबल लेन पुल निर्माण, प्रारम्भिक डिजाइन र चालु आर्थिक वर्षभित्रै ठेक्का आह्वान गर्ने तयारी गर्नु आशालाग्दो छ। सांसद रमेशकुमार सापकोटाले देखाएको सक्रियता र प्राविधिक टोलीको प्रतिबद्धता पनि सकारात्मक पहल हुन्।

तर, रानीघाटवासीले यसअघि पनि धेरै आश्वासन सुनेका छन्। त्यसैले अब भाषण, प्रतिबद्धता र आश्वासनभन्दा कामको प्रगति देखिनुपर्छ। बजेट सुनिश्चितता, डिजाइन, ठेक्का प्रक्रिया र निर्माणका प्रत्येक चरण समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय, सडक विभाग र जनप्रतिनिधिले जवाफदेहिता लिनुपर्छ। विकासको अर्थ पिलर ठड्याउनु मात्र होइन, नागरिकको जीवन सहज बनाउनु हो। रानीघाटका नागरिकले अब अर्को दशक प्रतीक्षा गर्नुपर्ने अवस्था आउनु हुँदैन। राज्यले उनीहरूको पीडालाई प्राथमिकतामा राखेर पुल निर्माणलाई राष्ट्रिय प्राथमिकताको आयोजनासरह अघि बढाउनुपर्छ। अब रानीघाटमा आश्वासनको होइन, पक्की पुल निर्माणको जग बस्नुपर्छ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार