सुर्खेत । बिहानको मिर्मिरे उज्यालो नखस्दै भेरी नदीको चिसो सिरेटो चिर्दै रानीघाट किनारमा स्थानीयको चहलपहल सुरु हुन्छ । कसैको पिठ्युँमा भारी छ, कसैको काखमा स–साना नानीबाबु छन् त कोही विरामी बोकेर हतारिँदै झोलुङ्गे पुल तरिरहेका छन् । सुर्खेतको बराहताल गाउँपालिकाको थापा डेरामा रहेको झोलुङ्गे पुलमा देखिन्छन् । यी दृष्यहरु वर्षदेखि पटक्कै फेरिएको छैनन् ।

२०६९ सालमा वीरेन्द्रनगर र बराहताल सिमाना छुट्टाएको भेरी नदीको रानीघाटमा पक्की पुलको शिलान्यास भयो, तब नदी पारिका बस्तीहरू, रानीघाट, सुगरखाल, श्रीचौर, तेलपानी र गाडापानीका बासिन्दाका आँखामा खुसीका आँसु टिल्पिलाएका थिए । तेलपानीका टोपबहादुर कठायत विगत सम्झिन्छन्, ‘अब हाम्रा दुःखका दिन सकिए, घरआँगनमै गाडी गुड्नेछ । बिरामी पर्दा एम्बुलेन्स आउनेछ र बारीमा फलेको तरकारी बजार पुग्नेछन।’
तर, १४ वर्ष बितिसक्दा पनि भेरीको बीचमा ठडिएका दुईवटा जीर्ण पिलरले स्थानीयको त्यही सपनालाई गिज्याइरहेका छन् । ती पिलरहरू सिमेन्ट र छडका थुप्रा मात्र होइनन्, विकासका नाममा भएको चरम लापरबाही र राज्यको उदासीनताका जीवित स्मारक बनेका छन् । आवतजावतका लागि यहाँ झोलुङ्गे पुल त छ, तर पक्की मोटररेबल पुल नहुँदा नदी पारिका हजारौँ नागरिक यातायातको पहुँचबाट पूर्ण रूपमा वञ्चित छन् । एउटा पक्की पुलको अभावले सिङ्गो बस्तीको जीवनशैली, स्वास्थ्य, शिक्षा र अर्थतन्त्रलाई कसरी वर्षौँ पछाडि धकेल्छ भन्ने जीवित उदाहरण रानीघाट पारि पुगेपछि देखिन्छ ।
पक्की पुल नबन्दा यहाँका बासिन्दाले दैनिक जीवनयापनमा अकल्पनीय सास्ती भोगिरहेका छन् । सबैभन्दा भयावह अवस्था स्वास्थ्य सेवामा छ । गाउँमा कोही सिकिस्त बिरामी पर्दा वा महिलालाई सुत्केरी व्यथा लाग्दा एम्बुलेन्स पुग्ने बाटो छैन् । स्थानीयले बिरामीलाई डोको वा स्ट्रेचरमा बोकेर घण्टौँको ओरालो बाटो हुँदै भेरी किनारमा ल्याउनुपर्छ । त्यहाँबाट झोलुङ्गे पुल तारेर वारि ल्याएपछि मात्र गाडी वा एम्बुलेन्समा राखेर वीरेन्द्रनगरको अस्पताल पु¥याउन सकिन्छ । समयमै अस्पताल पु¥याउन नसक्दा कतिपय बिरामी र सुत्केरीले अकालमै ज्यान गुमाउनुपरेका घटना स्थानीयका लागि कहिल्यै नसुक्ने घाउ बनेका छन् ।
शिक्षाको अवस्था उस्तै कष्टकर छ । यातायातको सहज पहुँच नहुँदा एकातिर विद्यार्थीको समय र श्रम खेर गइरहेको छ भने अर्कोतिर आर्थिक रूपमा कमजोर परिवारका धेरै विद्यार्थीले उच्च शिक्षा बीचैमा छाड्नुपर्ने बाध्यता छ । कृषि र पशुपालनका लागि अत्यन्तै उर्वर मानिने सुगरखाल, श्रीचौर र तेलपानी क्षेत्रका किसानले उत्पादन गरेका ताजा तरकारी, अदुवा, बेसार, फलफूल र खसीबोका ढुवानी गर्न नसक्दा बजारसम्म पु¥याउन सकिँदैन् ।
गाडी नचल्दा किसानको पसिना बारीमै कुहिएर खेर जान्छ । यता वीरेन्द्रनगरबाट नुन, तेल, चामल, मलखाद र घर बनाउने निर्माण सामग्री गाडीमा ल्याएर रानीघाट वारि झार्नुपर्छ । त्यहाँबाट भरिया लगाएर वा आफ्नै पिठ्युँमा बोकेर झोलुङ्गे पुल तार्दै गाउँ लैजाँदा दैनिक उपभोग्य वस्तुको मूल्य सदरमुकामको तुलनामा दोब्बरसम्म महँगो पर्ने गरेको छ । सामान्य नागरिकता बनाउन, मालपोत तिर्न वा बैंकको काम गर्न समेत दुई–तीन दिन खर्चिनुपर्ने बाध्यताले नागरिकलाई आजित बनाएको कठायत बताउँछन् ।
ओझेलमा अन्तरप्रदेशीय लाइफलाइन
रानीघाट पुल नदी पारिका केही बस्ती जोड्ने स्थानीय संरचना मात्र होइन, यो कर्णाली र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा छोटो र रणनीतिक महत्वको लाइफलाइन हो । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरबाट मुलपानी–रानीघाट–तेलपानी हुँदै बर्दियाको पूर्व–पश्चिम राजमार्गस्थित भुरीगाउँ निस्कने यो सडकको दूरी जम्मा ५२ किलोमिटर मात्र छ । कर्णालीको राजधानीलाई तराई र भारतीय सीमा नाकासँग जोड्ने यो सबैभन्दा छोटो मार्ग हो । तर, मुख्य प्रवेशद्वार मानिने रानीघाटमै पुल अलपत्र परेपछि सडक आयोजनाको औचित्य नै संकटमा छ ।
पुल नबन्दा सुर्खेतबाट बर्दिया, कैलाली, कञ्चनपुर तथा भारतीय सीमा नाका (मुर्तिहा) तर्फ जाने यात्रु तथा मालवाहक सवारीसाधनहरू वीरेन्द्रनगर–छिन्चु–बबई–कोहलपुर हुँदै करिब ११० किलोमिटरभन्दा लामो घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् । ५२ किलोमिटरमा पार गर्न सकिने यात्राका लागि दोब्बरभन्दा बढी दूरी घुम्नुपर्दा यात्रुको समय र इन्धन खेर गइरहेको छ । पुल नबनेकै कारण सवारीसाधन नचल्दा सुर्खेततर्फ खोलिएको सडकको ट्र्याक र तेलपानी क्षेत्रको सडकमा पहिरो जाने र झाडीले पुरिने अवस्था छ । पुल समयमै बनेको भए आज वीरेन्द्रनगरबाट करिब डेढ घण्टामै बर्दिया पुग्न सकिने थियो र कर्णालीको आर्थिक तथा व्यापारिक गतिविधिले नयाँ फड्को मारिसकेको हुन्थ्यो ।
‘निराशा चिर्दै चालु आवमै ठेक्का लगाउछौं’
ललित जन खनाल, प्रमुख, सडक विभागका पुल महाशाखा
डेढ दशक लामो पीडा, प्रतीक्षा र निराशापछि अब भने रानीघाट पारीका बासिन्दामा केही आशा पलाएको छ । पुरानो अलपत्र ठेक्काको कानुनी उल्झनलाई एकातिर पन्छाउँदै सरकारले नयाँ स्थानमा आधुनिक प्रविधिको डबल लेन पुल निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ सुर्खेतका सांसद रमेशकुमार सापकोटा र सडक विभागका पुल महाशाखा प्रमुख ललित जन खनालसहितको उच्चस्तरीय प्राविधिक टोलीले केही दिन अघि मात्रै स्थलगत अनुगमन गरेपछि नयाँ पुल बन्ने निश्चित भएको हो ।
अनुगमनका क्रममा महाशाखा प्रमुख खनालले पुरानो ठेक्काको अदालती प्रक्रिया आफ्नै ढंगले चलिरहने र त्यसले नयाँ स्थानमा बन्ने पुलको कामलाई कुनै अवरोध नगर्ने स्पष्ट पारे । ‘मन्त्रालयबाट सहमति पत्र प्राप्त भएको डेढ महिनाभित्रै नयाँ पुल निर्माणका लागि टेन्डर आह्वान गर्छौँ,’ खनालले भने, ‘तोडिएका र राष्ट्रिय राजमार्गमा परेका पुलहरूका लागि सरकारले अलग्गै स्रोत सुनिश्चित गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीसमेत सकारात्मक रहेकाले बजेटको कुनै अभाव हुँदैन ।’
अब बन्ने पुल पहिलेको जस्तो परम्परागत नभई आधुनिक प्रविधि (सीएफएसटी वा सोसरह) मा आधारित र डबल लेनको हुने महाशाखा प्रमुख खनाल बताउँछन् । भेरी नदीको बाढीको जोखिमलाई मध्यनजर गर्दै नदीको बीचमा पिलर (इन्टरमिडिएट पियर) नराखी करिब १२० देखि २०० मिटरसम्मको सिंगल स्पानमा पुल निर्माण गर्ने अवधारणा अघि सारिएको छ । पुरानो ठेक्का (पप्पु÷मल्ल जेभी) ले काममा लापरबाही गरेको र प्राविधिक त्रुटि समेत देखिएकाले यसअघि बनेका जीर्ण पिलर प्रयोग गर्न नमिल्ने भएको छ । ती पुराना संरचनालाई छाडेर अहिले नदी किनारासम्म बनेको सडकबाटै नयाँ ठाउँबाट सिधा पर्ने गरी पुलको जग हालिनेछ ।
‘प्रारम्भीक डिजाइन शुरु गरिसकेका छौं’
विवस बाबु सदादेव, प्रमुख, सडक डिभिजन कार्यालय, सुर्खेत
सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार कन्सल्टेन्ट टोली एक हप्ताभित्रै फिल्डमा खटिएर प्रारूप डिजाइनको काम थाल्दैछ । त्यहाँ बाटो अलिकति लामो चाहिने र नदी घुमेको हुनाले नदी नियन्त्रणको काम पनि ठूलै गर्नुपर्ने अवस्था छ । सामान्यतया ५० मिटर पुल निर्माण गर्दा १५ देखि १६ करोड रुपैयाँ लागत आउने हुँदा करिब २०० मिटर लामो पुल, पहुँच मार्ग र नदी नियन्त्रणका संरचनासमेत जोड्दा कुल लागत ७० देखि ८० करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।
एकदेखि डेढ महिनाभित्र प्रारूप डिजाइन र यथेष्ट इस्टिमेट तयार पारी लक गरेर चालु आर्थिक वर्षभित्रै ठेक्का आह्वान गरी ठेकेदार छनोट गरिसक्ने लक्ष्य राखिएको छ । ठेक्का लागेपछि तीनदेखि चार महिनाभित्र विस्तृत डिजाइन सकेर दुईदेखि तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने योजना छ ।
‘सहमति पत्र ल्याउने जिम्मा मेरो, अब पुल रोकिँदैन’
रमेश सापकोटा, सांसद, सुर्खेत
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रमेशकुमार सापकोटाले १४ वर्षदेखि अलपत्र परेको रानीघाट पुलको विकल्पमा नयाँ पुल निर्माण प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्गोमा पु¥याउन विशेष तदारुकता देखाएका छन् । उनकै प्रत्यक्ष पहल र आग्रहपछि सडक विभागका पुल महाशाखा प्रमुख ललित जन खनाल कार्यतालिकामा नभए पनि स्थलगत अनुगमनका लागि सुर्खेतको रानीघाट पुगेका थिए । स्थलगत अनुगमनका क्रममा सांसद सापकोटाले पुल निर्माणका लागि आवश्यक बजेट र स्रोत सुनिश्चितताको सहमति पत्र छिटो झिकाउन आफू उच्च तहमा पहल गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
उनले प्राविधिक टोलीसँग भने, ‘मैले अब कहाँ जानुप¥यो, प्रधानमन्त्रीज्यूलाई भन्नुप¥यो कि अर्थमन्त्रीज्यूलाई ? भौतिक पूर्वाधार र अर्थ मन्त्रालयमा पहल गरेर जतिसक्दो छिटो सहमति पत्र थमाउने जिम्मा मेरो भयो, तर पत्र बुझाएको डेढ महिनाभित्रै टेन्डर प्रक्रिया अघि बढ्नुपर्छ ।’ सापकोटाले काममा ढिलासुस्ती नहोस् भन्नका लागि तोकिएको समयभन्दा अगावै प्रक्रिया सक्ने लक्ष्य राख्न प्राविधिक टोलीलाई आग्रह गरे ।
‘हाम्रो लक्ष्य ४५ दिनको समयसीमा तोकेर ४० दिनमै काम सक्ने हुनुपर्छ,’ उनले भने, ‘निर्माण अवधि पनि तीन वर्षको ठेक्का लगाएर दुई वर्षभित्रै सम्पन्न गर्ने गरी गति दिनुपर्छ । अब कुनै पनि बहानामा पुल निर्माण रोकिनु हुँदैन् ।’ लामो समयदेखि सास्ती खेपिरहेका स्थानीयको पीडा अन्त्य गर्न र वीरेन्द्रनगर–बर्दिया जोड्ने ५२ किलोमिटरको छोटो मार्ग सञ्चालनमा ल्याउन आफूले मन्त्रालयदेखि विभागसम्म निरन्तर दबाब र समन्वय गरिरहने सापकोटाले जानकारी दिए ।







