२०८३ मंसिर ७ , सोमबार
सम्पादकीय

कहिले बन्छ गाउँमै रोजगारीको आधार?



जुम्लाका गाउँबाट हरेक वर्ष दसैँ–तिहारपछि सुरु हुने कालापहाड यात्रा केवल रोजगारीको खोजीमा हुने आवतजावत होइन, यो राज्यको विकास नीति र स्थानीय सरकारको कार्यसम्पादनमाथि उठेको गम्भीर प्रश्न पनि हो। उत्पादनशील उमेरका युवा गाउँ छाडेर भारत जान बाध्य हुँदा गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै रहने अवस्था सिर्जना हुँदै गएको छ। यो अवस्था जुम्लाको मात्र समस्या होइन, समग्र कर्णालीको विकाससँग जोडिएको चुनौती हो। गाउँमै बसेर परिवार पाल्ने रहर हुँदाहुँदै पनि आम्दानीको भरपर्दो आधार नहुँदा युवाहरू कालापहाड जानुपर्ने बाध्यतामा छन्। खेतीपातीबाट वर्षभरि परिवारको खर्च धान्न नसकिने, स्थानीय स्तरमा रोजगारीका अवसर नहुने र सीपअनुसारको काम नपाइने अवस्थाले उनीहरूलाई घरपरिवार छाड्न बाध्य बनाएको छ। कतिपयले आफ्ना छोराछोरीको शिक्षा र परिवारको आधारभूत आवश्यकता पूरा गर्नसमेत परदेशकै भर पर्नुपरेको छ।

युवा पलायनको असर अर्थतन्त्रमा मात्र सीमित छैन। खेतबारी बाँझिँदै जानु, कृषि उत्पादन घट्नु, विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुनु र सामाजिक गतिविधिमा जनशक्तिको अभाव देखिनुले गाउँको समग्र जीवन प्रभावित भएको छ। परिवारको जीविकोपार्जनका लागि भारत पुगेका अभिभावकका बालबालिकाले पर्याप्त हेरचाह र नियमित शिक्षाको अवसर गुमाउनुपर्ने अवस्था पनि उत्तिकै चिन्ताजनक छ। विडम्बना, स्थानीय तहमा हरेक वर्ष युवा लक्षित कार्यक्रमका नाममा बजेट खर्च भइरहेको छ। सीपमूलक तालिम, आयआर्जन र उद्यमशीलताका कार्यक्रम सञ्चालन भएको विवरण पनि सार्वजनिक हुन्छन्। तर ती कार्यक्रमले युवाको आम्दानी र रोजगारीमा कति परिवर्तन ल्याए भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ। खेलकुद सामग्री वितरण र औपचारिक तालिमले मात्र युवा पलायन रोकिँदैन। तालिमलाई बजार, उत्पादन र आम्दानीसँग जोड्नुपर्छ।

जुम्ला कृषि, पशुपालन, जडीबुटी, फलफूल र पर्यटनको सम्भावना बोकेको जिल्ला हो। स्थानीय स्रोतसाधनको उपयोग गर्दै व्यावसायिक कृषि, पशुपालन, स्याउ उत्पादन तथा प्रशोधन, जडीबुटी संकलन र बजारीकरणमा युवालाई जोड्न सकिन्छ। त्यसका लागि उत्पादनको उचित मूल्य, बजारको सुनिश्चितता, सहुलियतपूर्ण ऋण, प्राविधिक सहयोग र व्यावसायिक वातावरण आवश्यक छ। स्थानीय सरकारको सफलता सडक र भवन निर्माणमा मात्रै मापन हुनु हुँदैन। गाउँका युवाले आफ्नै ठाउँमा बसेर सम्मानजनक आम्दानी गर्न सक्ने अवस्था सिर्जना गर्नु पनि विकासको महत्त्वपूर्ण सूचक हो। त्यसैले अब बजेट खर्चको उपलब्धि होइन, त्यसले कति रोजगारी सिर्जना ग¥यो भन्ने आधारमा कार्यक्रमको मूल्याङ्कन हुनुपर्छ। कालापहाड जाने युवालाई रोक्ने नाममा प्रतिबन्ध वा आश्वासन होइन, गाउँमै बस्न सक्ने आर्थिक आधार चाहिएको छ। युवा गाउँ फर्किने र गाउँमै भविष्य खोज्ने वातावरण बनाउनु राज्यको दायित्व हो। गाउँ रित्तिँदै जाने, खेतबारी बाँझिँदै जाने र उत्पादनशील जनशक्ति परदेशिने क्रम रोक्न सकिएन भने स्थानीय विकासको अर्थ नै अधुरो हुनेछ। अब प्रश्न युवा किन विदेशिए भन्ने मात्र होइन, उनीहरूलाई गाउँमै रोक्न स्थानीय सरकारले के ग¥यो भन्ने पनि हो।

प्रकाशित मिति : २०८३ मंसिर ७ गते सोमबार