२०८३ मंसिर ६ , आइतबार
सम्पादकीय

वीरेन्द्रनगरको प्रतिष्ठा र पहिचान जोगाउ



नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुनु समग्र प्रदेशका लागि गौरवको विषय हो। लामो प्रतीक्षा र अन्योल चिर्दै हुन लागेको यो प्रतियोगिता कर्णालीको खेलकुद विकास, पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारको महत्त्वपूर्ण अवसर पनि हो। तर, यति ठूलो राष्ट्रिय महोत्सवको आतिथ्य गर्ने जिम्मेवारी पाएको वीरेन्द्रनगरको तयारी भने अपेक्षाअनुसार देखिन सकेको छैन। देशभरबाट हजारौँ खेलाडी, प्रशिक्षक, निर्णायक, दर्शक तथा पाहुना आउने प्रतियोगितामा आयोजक सहरको पहिलो परिचय नै यहाँको सडक, सरसफाइ, यातायात र आतिथ्यबाट हुने हो। विडम्बना, मुख्य सडकका बत्ती निभेका छन्, सडकका खाल्डाखुल्डी उस्तै छन्, धुलो र फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान पुगेको छैन। स्वागतद्वार, प्रचारप्रसार र सहरको सौन्दर्यीकरणमा समेत अपेक्षित सक्रियता देखिएको छैन। यस्तो अवस्थाले राष्ट्रियस्तरको प्रतियोगितामार्फत वीरेन्द्रनगरको पहिचान स्थापित गर्ने अवसर कमजोर बनाउन सक्छ।

प्रतियोगिता सफल बनाउने जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्को मात्र होइन। आतिथ्य सहर भएकाले वीरेन्द्रनगर नगरपालिकाको भूमिका अझ महत्त्वपूर्ण हुन्छ। प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र नागरिक समाजबीच प्रभावकारी समन्वय हुन आवश्यक छ। तर, तयारीका विषयमा निजी क्षेत्रले समेत पर्याप्त भूमिका र समन्वय नपाएको गुनासो गर्नु सुखद पक्ष होइन।नगरपालिकाले विशेष समिति गठन गरी सडक बत्ती मर्मत, डस्टबिन थप्ने, सरसफाइ अभियान, स्वागतद्वार निर्माण तथा पर्यटकीय स्थलको सौन्दर्यीकरणका काम अघि बढाएको जनाएको छ। यो सकारात्मक सुरुवात हो। तर, प्रतिबद्धता र कागजी तयारीभन्दा नागरिकले देख्ने गरी मैदानमा काम सम्पन्न हुनु महत्त्वपूर्ण छ। समयको अभावलाई बहाना बनाएर आधारभूत व्यवस्थापनका काम अधुरै छाड्नु हुँदैन।

दशौँ राष्ट्रिय खेलकुदमा ११ टोलीका खेलाडीले ३२ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन्। यो केवल पदक जित्ने प्रतिस्पर्धा होइन, कर्णालीको क्षमता, सम्भावना र आतिथ्य प्रस्तुत गर्ने राष्ट्रिय अवसर पनि हो। त्यसैले वीरेन्द्रनगरका सडक मर्मत, बत्ती व्यवस्थापन, फोहोर नियन्त्रण, ट्राफिक व्यवस्थापन र बजार क्षेत्रको सरसफाइलाई तत्काल प्राथमिकतामा राख्नुपर्छ। होटल व्यवसायी, यातायात व्यवसायी, उद्योगी, व्यापारी र स्थानीय नागरिकलाई समेत अभियानमा जोड्नुपर्छ। कर्णालीले पाएको यो अवसर फेरि कहिले आउँछ भन्ने निश्चित छैन। प्रतियोगिताको सफल आयोजना पदक तालिकाले मात्र मापन हुँदैन, पाहुनाले बोकेर फर्कने अनुभवले पनि मापन हुन्छ। त्यसैले सरकार र सम्बन्धित निकायले अब ढिलाइ नगरी जिम्मेवारी पूरा गर्नुपर्छ। खेलकुदको महाकुम्भ सकिएपछि पनि उपयोगी हुने गरी सहरको पूर्वाधार र व्यवस्थापन सुधार्न सके मात्र दशौँ राष्ट्रिय खेलकुद वीरेन्द्रनगरका लागि वास्तविक उपलब्धि बन्नेछ। राष्ट्रिय खेलकुदको आतिथ्य केवल प्रतियोगिता सञ्चालन गर्नु होइन, वीरेन्द्रनगरको प्रतिष्ठा र कर्णालीको पहिचान जोगाउनु पनि हो।

प्रकाशित मिति : २०८३ मंसिर ६ गते आइतबार