सुर्खेत । हुम्लाका सुगन्ध (नाम परिवर्तित) पाँच वर्षका थिए । परिवारको आर्थिक अवस्था कमजोर थियो । सदरमुकाम सिमकोटमा दाउरा बेचेर परिवारको गुजारा चल्थ्यो । त्यही अभाव देखेर एक व्यक्तिले काठमाडौं लगेर निःशुल्क बोर्डिङमा पढाउने र राम्रो भविष्य बनाइदिने आश्वासन दिएपछि उनकी आमाले सुगन्धलाई अपरिचित व्यक्तिको साथ लगाएर पठाइन् । काठमाडौंको बालगृहमा पुगेपछि भने उनले राम्रो खाना र लत्ताकपडासमेत नपाउने, साँघुरो ठाउँमा धेरै बालबालिकासँग बस्नुपर्ने र हिंसा सहनुपर्ने अवस्था भोगे ।

१३ वर्षको उमेरसम्म बालगृहमा बसेका उनले मातृभाषासमेत बिर्सिए । १२ वर्षपछि घर फर्किँदा आफ्नै आमालाई समेत चिन्न सकेनन् । ‘दाउरा बेचेर छाक टार्ने मेरी आमालाई कुनै व्यक्तिले पढाइदिने प्रलोभनमा पारेपछि म आफ्नै परिवारसँग अलग भएँ । परिवारबाट अलग भएपछिका कष्टकर दिनहरु मैले कसरी बिताएँ, त्यहाँबाट निस्किसकेपछि परिवारसँग पुनर्मिलन हुन मैले गर्नुपरेको संघर्षको कथा सुनाएर साध्यै छैन,’ सुगन्धले भने ।
सुगन्धको कथा कर्णालीका आर्थिक रुपमा कमजोर परिवारका बालबालिकालाई शिक्षा र राम्रो भविष्यको प्रलोभनमा परिवारबाट टाढा पु¥याउँदा निम्तिन सक्ने जोखिमको एउटा उदाहरण हो । २६.६९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको कर्णालीका बालबालिकाको सुन्दर भविष्यको आशमा परिवारले अपरिचित व्यक्तिको जिम्मामा उनीहरुलाई लगाइरहेका छन् ।
नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ अनुसार कर्णालीको गरिबी दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा ६.४२ प्रतिशत बिन्दुले बढी हो ।
सुगन्ध त हराएर वर्षौँपछि भेटिए तर कर्णालीका कर्णालीका १० जिल्लाबाट आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्म ४ हजार ७५ बालबालिका अँझै हराइरहेका छन् । तीमध्ये २ हजार ४ सय १८ बालिक छन् । अर्थात् हराउने बालबालिकामा बालिकाको संख्या ५९.३ प्रतिशत छ । बालकको संख्या १ हजार ६ सय ५७ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बालबालिका हराउने क्रम पछिल्ला वर्षमा बढ्दै गएको तथ्यांकले देखाउँछ । कार्यालयका प्रवक्ता एवम् एसएसपी सन्तोषसिंह राठौरका अनुसार आर्थिक वर्ष ०७३/७४ मा २ सय ८७ जना हराएका थिए । त्यसपछि आव ०७४/७५ मा ३ सय २३, आव ०७५/७६ मा ३ सय ७४, ०७६/७७ मा २ सय ७१, ०७७/७८ मा ३ सय ९, ०७८/७९ मा ४ सय ११, ०७९/८० मा ४ सय १४, ०८०/८१ मा ५ सय ३, ०८१/८२ मा ५ सय ५६ हुँदै ०८२/८३ मा ६ सय २७ पुगेको उनको भनाइ छ । पछिल्लो आर्थिक वर्षमा मात्रै हराएका ६ सय २७ बालबालिकामध्ये ४ सय ३० बालिका र १ सय ९७ बालक छन् ।
जिल्लागत रुपमा सुर्खेतमा सबैभन्दा धेरै ३ सय २३ जना बालबालिका हराएका छन् । त्यसपछि दैलेखमा ६६, रुकुम पश्चिममा ५७, हुम्लामा ५५, जाजरकोटमा २९, डोल्पामा २७, सल्यान र जुम्लामा २१÷२१, मुगुमा १८ र कालिकोटमा १० जना छन् । सोही दस वर्षको अवधिमा ४ हजार ७१ बालबालिका फेला परेको सरकारी विवरण छ । तर यो संख्या सोही अवधिमा हराएका बालबालिकाहरु फेला परेका भन्न नमिल्ने राठौरको भनाइ छ । ‘वर्षौँदेखि हराएका बालबालिका भेटिएका पनि छन्,’ उनले भने, ‘सबै सोही अवधिमा हराएकाहरु भेटिएका हुन् भनेर ठ्याक्कै भन्न सकिँदैन ।’
जुम्लाकी परी सात वर्षकी थिइन्, जब दुई बहिनीसहित उनलाई काठमाडौंको बालगृह पठाइयो । एउटा बालगृहबाट अर्को बालगृह हुँदै उनले आफ्नो बाल्यकाल बिताइन् । १७ वर्षको उमेरमा मात्रै घर फर्किएकी परीले परिवारमा हुर्किएका बालबालिकाले सहज रुपमा सिकेका धेरै कुरा आफूले सिक्न नपाएको अनुभव सुनाउँछिन् । बालगृहमा रहँदा हिन्दू धर्म र संस्कृतिसँग परिचित भएकी परी इसाई परिवारमा फर्किएपछि परिवारसँगको सम्बन्धमा समेत चुनौती आयो । परिवार र आफन्तसँग गर्ने सामान्य सांस्कृतिक व्यवहारदेखि सार्वजनिक ठाउँमा आफ्नो अधिकारका लागि बोल्नेसम्मका कुरा उनलाई असहज लागे ।
‘सार्वजनिक गाडीमा सहचालकले बढी पैसा लिँदा पनि बोल्ने हिम्मत ममा छैन । परिवार र आफन्तलाई सांस्कृतिक रुपमा गर्नुपर्ने व्यवहार गर्न पनि गाह्रो हुन्छ, किनकि मैले यी व्यवहार बालगृहमा सिक्न पाइनँ, उनले भनिन् ।’ सानै उमेरमा परिवारबाट अलग भएर संस्थागत हेरचाहमा हुर्किँदा त्यसको असर बाल्यकालमा मात्रै सीमित नहुने उनको अनुभव छ । दैनिक जीवनका सामान्य व्यवहार, सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यसम्म त्यसको असर पर्ने उनले बताइन् ।
प्रलोभनमा पारेर लैजाने क्रम रोकिएको छैन
बालबालिकालाई परिवारबाट अलग पारेर लैजाने क्रम रोकिएको छैन । २०८१ जेठमा हुम्ला र मुगुका २८ बालबालिकालाई काठमाडौंको बलम्बुस्थित बौद्ध विहारमा पढाइदिने भन्दै लैजान खोजिएको अवस्थामा प्रहरीले वीरेन्द्रनगरको तीनकुनेबाट नियन्त्रणमा लिएको थियो । तीमध्ये १६ बालिका र १२ बालक थिए । प्रारम्भिक अनुसन्धानमा आर्थिक तथा सामाजिक रुपमा कमजोर परिवारका बालबालिकालाई राम्रो विद्यालयमा पढाइदिने आश्वासन दिएर परिवारकै सहमतिमा काठमाडौं लैजान खोजिएको प्रहरीले बतायो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार बालबालिका हराउने घटनामा परिवारको कमजोर आर्थिक अवस्था, शिक्षा र रोजगारीको खोजी, पारिवारिक विछोड तथा सहरमा राम्रो भविष्य बनाइदिने आश्वासनजस्ता पक्षलाई छुट्टाछुट्टै हेर्नुपर्ने देखिन्छ ।
हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामा बालबालिका हराउने घटनालाई उनीहरू आफैं घरबाट भागेको घटनाका रुपमा मात्रै बुझ्नु गलत भएको बताउँछन् । विशेषगरी कर्णालीका आर्थिक रुपमा कमजोर परिवारका बालबालिकालाई राम्रो शिक्षा र भविष्यको आश्वासन दिएर अन्यत्र लैजाने घटना रहेको उनले बताए । उनका अनुसार कर्णालीबाट बालबालिकालाई काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीलगायत जिल्लामा लैजाने गरिएको पाइएको छ । कतिपय अवस्थामा नक्कली कागजात प्रयोग भएको समेत भेटिएको उनले बताए ।
‘यस्तो विछोडले बालबालिका र परिवारबीचको भावनात्मक सम्बन्ध कमजोर हुन्छ,’ लामाले भने, ‘जन्मदर्ता र नागरिकता बनाउन समस्या हुने, बालबालिकाको पहिचान हराउने, हेला, शोषण र दुव्र्यवहारको जोखिम बढ्ने तथा आफ्नो रीतिरिवाज, धर्म, परम्परा र संस्कृतिबाट विच्छेद हुने समस्या देखिन्छ ।’ हिमाली नवीन समाजले हालसम्म करिब १ हजार १ सय ५० बालबालिकाको उद्धार गरेको र तीमध्ये करिब ६० प्रतिशत कर्णालीका रहेको लामाले बताए । उनका अनुसार हुम्ला, मुगु र सुर्खेतबाट धेरै बालबालिका उद्धार भएका छन् । लामो समय परिवारबाट अलग भएका बालबालिकालाई पुनः परिवारमा फर्काएपछि पनि सामाजिक र पारिवारिक रूपमा घुलमिल गराउन चुनौती हुने गरेको उनको अनुभव छ ।
अभिभावकबाट टाढा रहेका २५ हजारभन्दा बढी बालबालिका
कर्णालीमा बालबालिका परिवारबाट टाढा रहने समस्या हराएका बालबालिकाको तथ्यांकमा मात्रै सीमित छैन । हालै सार्वजनिक कर्णालीका बालबालिकासम्बन्धी विवरणअनुसार प्रदेशमा २५ हजार ३ सय ६३ बालबालिका अभिभावकदेखि टाढा छन् ।
त्यस्तै कर्णालीमा ४८ हजार ७१ अर्थात् ७.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । गरिबी, अभिभावकको लापरवाही, अभिभावक गुमाउनु, विद्यालय टाढा हुनु तथा अभिभावक मजदुरीका लागि भारत जाँदा बालबालिकालाई समेत लैजानुलगायत कारणले बालबालिका विद्यालयबाट बाहिर रहेको मन्त्रालयले जनाएको छ ।
बालबालिका खोजतलास, उद्धार र परिवारमा पुनर्मिलनका लागि नेपाल सरकारले निःशुल्क १०४ बालबालिका खोजतलास सेवा सञ्चालन गरिरहेको छ । कर्णालीमा वीरेन्द्रनगरबाट यो सेवा सञ्चालनमा छ । हराएका तथा अपहरणमा परेका बालबालिकाको खोजी, बेवारिसे फेला परेका बालबालिकाको परिवार खोजी तथा पुनर्मिलन र जोखिममा रहेका बालबालिकाको उद्धार तथा संरक्षण यसको जिम्मेवारीमा पर्छ । तर सुगन्ध र परीको अनुभवले देखाएको प्रश्न खोजी र उद्धारपछि पनि बाँकी रहन्छ ।








