सुर्खेत । तोकिएको समयभन्दा करिब ११ महिना अगाडी नै १२ दशमलव २० किलोमिटर लामो सुरुङ छिचोलेर चर्चा कमाएको आयोजना होः राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना । अहिले भने उक्त आयोजना बाँध, विद्युतगृह र अन्य संरचना निर्माणमै अल्झिएको छ । २०७६ वैशाख ३ मा सुरुङको ‘ब्रेक थ्रु’ भएको सात वर्षभन्दा बढी भइसक्दा पटक पटक म्याद थप हुँदै आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशतमा मात्र पुगेको छ ।

सुरुङ निर्माणका लागि चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) सँग २०७६ चैत १५ सम्म काम सम्पन्न गर्ने गरी सम्झौता भयो । कम्पनीले २०७४ कात्तिक २० देखि टीबीएम प्रयोग गरेर सुरुङ खन्यो । २०७६ वैशाख ३ मा सुरुङ छिचोल्दा सम्झौताको अन्तिम मितिभन्दा करिब ११ महिना १२ दिन अगावै काम सकिएको थियो । नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण भएकाले यसको कामले त्यतिबेला राष्ट्रियस्तरमै चर्चा पाएको थियो ।
तर सुरुङपछि निर्माण गर्नुपर्ने मुख्य संरचनामा भने त्यही गति कायम रहन सकेन । भेरी–बबई आयोजनाको पाँचवटा मुख्य प्याकेजमध्ये पहिलो प्याकेजअन्तर्गतको सुरुङ निर्माण सकिएको छ । दोस्रो प्याकेजअन्तर्गत बाँध, सर्ज साफ्ट, पेनस्टक र पावरहाउसका सिभिल संरचना निर्माण भइरहेका छन् । तेस्रो प्याकेजमा हाइड्रोमेकानिकल र चौथोमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम छ । पाँचौँ प्याकेजमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।
गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशत छ । अद्यावधिक गुरुयोजनाअनुसार आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षसम्म १९ अर्ब ४४ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाका सूचना अधिकारी तथा वरिष्ठ डिभिजनल इन्जिनियर हरिबहादुर थापाका अनुसार संशोधित कार्यतालिकाअनुसार आर्थिक वर्ष २०८७/८८ सम्म आयोजना पूरा गर्ने लक्ष्य छ ।
आधा प्राविधिक जनशक्ति नै छैन
आयोजनाको अहिलेको अर्को समस्या प्राविधिक जनशक्तिको अभाव हो । स्वीकृत ३४ कर्मचारी दरबन्दीमध्ये आयोजना निर्देशकसहित २२ जना मात्र कार्यरत छन् । स्वीकृत २२ प्राविधिक दरबन्दीमध्ये ११ पद रिक्त छन् । यसले आयोजना कार्यालयमै आवश्यक प्राविधिक जनशक्तिको आधा हिस्सा पदपूर्ति नभएको अवस्था देखाउँछ ।
सूचना अधिकारी थापाका अनुसार कार्यरत केही इन्जिनियरसमेत सरुवा हुने क्रममा रहेकाले प्राविधिक जनशक्ति अझ घट्न सक्ने अवस्था छ । उनका अनुसार सिभिल इरिगेसन, हाइड्रोपावर, हाइड्रोजियोलोजी र इलेक्ट्रिकलतर्फका विभिन्न प्राविधिक पद रिक्त छन् ।
प्रशासनतर्फ लेखा उपसचिवको पदसमेत पूर्ति हुन सकेको छैन । थापाले आयोजना निर्माणमा यसअघि निर्माण व्यवसायीसँगै विभिन्न प्राविधिक कारणले ढिलाइ भएको बताए । अहिले भने संशोधित कार्यतालिकाअनुसार बाँकी काम अघि बढाउने तयारी रहेको उनको भनाइ छ । ‘यसअघि निर्माण व्यवसायीसँगै विविध प्राविधिक कारणले आयोजना निर्माणमा केही विलम्ब भएको देखिन्छ,’ थापाले भने, ‘अब दुई÷तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने कार्यतालिका अनुसार कामको गति अघि बढ्छ । निर्माण व्यवसायीले सर्तसहित तोकिएको मितिमै सम्पन्न गर्ने प्रतिबद्धताका साथ आएकाले पनि आयोजनाले गति लिन्छ भन्ने अपेक्षा छ ।’
दोस्रो प्याकेजको प्रगति ४८ प्रतिशत
आयोजनाको सबैभन्दा महत्वपूर्ण बाँध तथा विद्युतगृहसँग सम्बन्धित दोस्रो प्याकेजको प्रगति भने ४८ प्रतिशत मात्र छ । २०७६ साउन १३ मा ग्वाङडोङ युआन्तियान÷रमन जेभीसँग ६ अर्ब ८८ करोड ८९ लाख रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० साउनभित्र सम्पन्न हुनुपर्ने यो प्याकेजको काम अझै आधाभन्दा कम छ ।
यस प्याकेजमा मुख्य बाँधका छवटा बेमध्ये दुईवटा सम्पन्न हुने चरणमा पुगेका छन् ।
सेटलिङ बेसिनको करिब ७० प्रतिशत काम सकिएको छ । पेनस्टक पाइपका लागि एंकर ब्लक, विद्युत्गृह र सर्ज साफ्ट निर्माणको काम जारी छ । दोस्रो प्याकेजमा भएको ढिलाइले त्यसपछिका हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कामसमेत प्रभावित भएका छन् । सुरुङ निर्माण सम्पन्न भएपछि मात्रै बाँध निर्माणको काम अघि बढाइएको थियो । यसको एउटा कारण सुरुङ निर्माणमा प्रयोग भएको नयाँ प्रविधि र आयोजनाको भौगोलिक अवस्थाबारे रहेको अनिश्चितता थियो ।
तेस्रो र चौथो प्याकेज पनि म्यादभन्दा पछाडि
हाइड्रोमेकानिकल संरचनाअन्तर्गतको तेस्रो प्याकेजको ठेक्का चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले २ अर्ब १३ करोड ७४ लाख ९३ हजार रुपैयाँमा लिएको छ । २०७८ मंसिर ७ मा सम्झौता भएको यो प्याकेज २०८१ पुस ४ सम्म सम्पन्न हुनुपर्ने थियो । तर अहिलेसम्म भौतिक प्रगति ६० प्रतिशत मात्र छ । गेट, स्टपलग र पेनस्टक पाइपको उत्पादन करिब ८५ प्रतिशत सकिएको छ । उत्पादन भएका उपकरण साइटमा ल्याएर जडान गर्ने काम सुरु भएको आयोजनाले जनाएको छ ।
चौथो प्याकेजमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम छ । चीनको झेजियाङ ओरियन्ट इन्जिनियरिङले ३ अर्ब २८ करोड ८० लाख २२ हजार रुपैयाँमा यो कामको जिम्मा लिएको छ । २०७९ साउन १९ मा सम्झौता भएको यो प्याकेज २०८२ भदौ १४ सम्म सकिनुपर्ने थियो । तर भौतिक प्रगति ५५ प्रतिशत मात्र पुगेको छ । टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेन उत्पादनको काम सकिए पनि तिनको जडान बाँकी छ ।
पाँचौँ प्याकेजअन्तर्गत भने आयोजनाबाट उत्पादन हुने विद्युत् कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोड्न करिब १ हजार ७ सय मिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । यसको अध्ययन प्रक्रिया अघि बढिरहेको आयोजनाले जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकन अध्ययन पूरा भइसकेको र थप अध्ययन परामर्शदातामार्फत भइरहेको छ ।
विभिन्न कारणले ढिलाई
आयोजना ढिलो हुनुको कारण अहिलेको प्राविधिक जनशक्ति अभाव मात्र होइन । निर्माण सुरु हुनै ढिलाइ भएको, सुरुङपछि मात्र बाँध निर्माण अघि बढाइएको, कोरोना महामारीका कारण काम प्रभावित भएको तथा इरानी परामर्शदाता कम्पनीसँगको सम्झौता रद्द गर्नुपरेका कारण पनि आयोजना पछाडि धकेलिएको आयोजना कार्यालयले बताउँदै आएको छ ।
आयोजनाको निर्माण प्रक्रिया २०७० सालमै सुरु हुनुपर्ने भए पनि ठेक्का प्रक्रियामा विवाद भएपछि ढिलाइ भएको थियो । कोभेकलाई सुरुङ निर्माणको जिम्मा दिने विषयमा अनुभवसम्बन्धी प्रश्न उठेपछि बोलपत्र प्रक्रिया पटक–पटक प्रभावित भएको थियो । अन्ततः २०७२ सालमा सम्झौता भएपछि पनि सुरुङ खन्ने काम तत्काल सुरु हुन सकेन ।
कोरोना महामारी र लकडाउनले बाँधलगायतका काम प्रभावित गरेपछि तत्कालीन आयोजना प्रमुख बमले आयोजनाको काम करिब दुई वर्ष पछाडि धकेलिएको बताएका थिए । ग्वाङडोङ युआन्तियान/रमन जेभीसँग २०७६ साउन ३० मा चार वर्षमा काम सक्ने सम्झौता भए पनि कोरोनाका कारण काम प्रभावित भएको र म्याद थपिएको थियो ।
त्यसैगरी आयोजनामा परामर्शदाताका रुपमा काम गरिरहेको इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) सँगको सम्झौता २०७९ माघमा रद्द भएको थियो । अमेरिकी प्रतिबन्धका कारण कम्पनी कालोसूचीमा परेपछि बैंकिङ कारोबारमा समस्या आएको र त्यसपछि सम्झौता रद्द गर्नुपरेको थियो ।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट ४८ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियाको करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ ।








