२०८३ असोज ३० , शुक्रबार

भन्सार छलेर ल्याइएको करिब १५ लाखको मदिरा बरामद



परासी । नवलपरासीमा भारतबाट भन्सार छली ल्याउँदै गरिएको करिब १५ लाख रुपैयाँ मूल्य बराबरको मदिरा प्रहरीले बरामद गरेको छ ।

जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित सीमावर्ती महलबारी क्षेत्रबाट ७४२ बोतल ओल्ड मङ्क रम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार ७५० मिलिलिटरका प्रत्येक बोतलको मूल्य दुई हजार रुपैयाँका दरले गणना गर्दा बरामद मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । बरामद मदिरालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा बेलाटारी र रामनगर प्रहरी चौकीबाट खटिएको टोलीले ११ वटा ठूला झोलामा राखिएको अवस्थामा मदिरा फेला पारेको हो । मदिरा ओसारपसारमा संलग्न व्यक्ति भने फेला नपरेको डीएसपी थापाले बताउनुभयो । चाडपर्व नजिकिँदै गर्दा जिल्लाका सीमावर्ती नाकाबाट भारततर्फ र भारतबाट नेपालतर्फ अवैध रूपमा सामान ओसारपसार हुने गतिविधि बढेको स्थानीयले बताएका छन् । प्रहरीले भने यस्ता गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी र गस्ती बढाइएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार