२०८३ असोज ३० , शुक्रबार

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ।

मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना प्रक्रिया टुंगिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सम्पन्न भएको थियो। त्यसैगरी सहमहामन्त्रीसहित खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य तथा थारूतर्फको मतगणना पनि राति अबेर सकिएको उनले जानकारी दिए। सबै मतपरिणामको रुजु गर्ने काम भइरहेको र त्यसपछि नतिजा सार्वजनिक गरिने उनको भनाइ छ। अन्य पदको मतगणना भने यसअघि नै सम्पन्न भइसकेको थियो।

गत असोज २३ गते मतदान सम्पन्न भएपछि सोही दिन रातिबाट सभापति पदको मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणनाको नतिजा असोज २४ गते बिहानै सार्वजनिक भएको थियो। बाँकी पदहरूको मतगणना भने असोज २४ गते रातिदेखि पार्टीको केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो। निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक भने सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ। उनका अनुसार मतगणना सुरु भएकै दिनदेखि दिन र रात दुवै समयमा काम हुने गरी झन्डै २५ समूह परिचालन गरिएको थियो। यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको उनले बताए। निर्वाचनका क्रममा कुनै विवाद उत्पन्न नभएको र मतदानदेखि मतगणनासम्मको प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उनको भनाइ छ।

महाधिवेशनमा कुल २२९ पदका लागि निर्वाचन भएको थियो। ती पद ७७ प्रकारका रहेका थिए भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो। कटुवालले अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको दाबी गरे। मतगणना सकिएसँगै अब निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण गराउने तयारी गरिएको छ। उक्त कार्यक्रम दसैंलगत्तै आयोजना गरिने उनले जानकारी दिए। शपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन्। उक्त बैठकमा स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीति तथा कार्ययोजना तयार गर्ने विषयमा समेत छलफल हुने तयारी रहेको बुझिएको छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार