२०८३ असोज ३० , शुक्रबार

प्रहरी अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने आईजीपी कार्कीको घोषणा



काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य अघि सारिएको बताउनुभएको छ।

शुक्रबार आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन विभिन्न आधुनिक संरचना स्थापना तथा रणनीतिक योजना कार्यान्वयनमा जोड दिइएको जानकारी दिनुभयो। उहाँले प्रहरी संगठनको भविष्यलाई ध्यानमा राख्दै अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गरी मेडिकल कलेज स्थापना गर्ने योजना अघि बढाइएको बताउनुभयो। यसबाट प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने उहाँको विश्वास छ।

महानिरीक्षक कार्कीका अनुसार पछिल्लो समय सूचना प्रविधिको अधिकतम प्रयोगले अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले उल्लेखनीय प्रगति गरेको छ। संगठनको कार्यक्षमता थप प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटीअन्तर्गत ड्रोन तथा एन्टि–ड्रोन युनिट र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टरजस्ता संरचना अघि सारिएको उहाँले बताउनुभयो। यी प्रविधिमैत्री संरचनाले प्रहरीको कार्यसम्पादनमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ। कार्कीले प्रहरी संगठनको आधारस्तम्भका रूपमा रहेको आदेश शृङ्खला (चेन अफ कमाण्ड) र अनुशासन कायम राख्न थप सजगता आवश्यक रहेको पनि औँल्याउनुभयो। संगठनलाई उत्तरदायी, व्यवस्थित र प्रभावकारी बनाउन अनुशासन, जवाफदेहिता तथा आपसी समन्वयलाई सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

समारोहमा उहाँले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, पूर्वप्रहरी, विद्यार्थी तथा सहयोगी संस्थालाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। नेपाल प्रहरीको सुधारमा योगदान पु¥याउने सञ्चारकर्मी, नागरिक समाज, समुदाय र शुभेच्छुकप्रति पनि उहाँले आभार प्रकट गर्नुभयो। अमर प्रहरीहरूको योगदान र बलिदानको स्मरण गर्दै महानिरीक्षक कार्कीले नागरिकमैत्री, उत्तरदायी तथा प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृतसमेत गरिएको थियो।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार