काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका कमजोरी, विकृति र विसंगति अन्त्य गर्दै संगठनलाई थप सुदृढ बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टी आन्तरिक अन्योलमै अल्झिएर बस्ने अवस्था नरहेको उल्लेख गर्दै कांग्रेसलाई सुधारको बाटोमा अघि बढाउनुपर्ने बताएका हुन्। “अब हामी घरभित्रै अलमलिएर बस्ने होइन। पार्टीलाई थप सफा बनाउँदै लैजानुपर्छ। पार्टीभित्र रहेका विकृति पनि हटाउनुपर्छ,” उनले भने। थापाले कांग्रेसलाई समयानुकूल बनाउन विभिन्न पुस्ताका विचार, अनुभव र आवाजलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार पार्टीको प्राथमिकता सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्ने प्रतिस्पर्धामा सीमित हुनुहुँदैन, बरु समाजका वास्तविक समस्या र राजनीतिक मुद्दामा गम्भीर छलफल गर्नुपर्छ।
“कसले सुन्छ, कसले सुन्दैन भनेर रिल्सको पछि लागेर हुँदैन। विभिन्न मुद्दा र विषय छन्। ती विषयमा बन्द कोठामा बसेर चिन्तन गर्नुपर्छ, बहस गर्नुपर्छ,” सभापति थापाले भने। समाजमा अनेकौँ समस्या र चुनौती रहेको उल्लेख गर्दै उनले सबै प्रश्नको जवाफ आफूसँग नहुन सक्ने भए पनि प्रश्नबाट भाग्न नहुने धारणा राखे। समस्यालाई बेवास्ता गर्नुको सट्टा तिनको पहिचान गरी समाधान खोज्न गम्भीर विमर्श आवश्यक रहेको उनको भनाइ थियो। सभापति थापाले पार्टीलाई समयअनुसार रूपान्तरण गर्दै विभिन्न पुस्ताका सोच र धारणालाई समेट्नुपर्ने आवश्यकता औँल्याए। कांग्रेसलाई प्रभावकारी र जनताप्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउन आन्तरिक सुधार, वैचारिक बहस र सामूहिक प्रयासलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो।








