२०८३ असोज ३० , शुक्रबार

दसैं–तिहारमा डिजिटल वालेट प्रयोगकर्तालाई राहत, दैनिक ५० पटकसम्म रकम जम्मा गर्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार तोकिएको अवधिमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा अधिकतम ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो। यसअघि प्राकृतिक व्यक्तिको वालेटमा दैनिक १० पटकसम्म मात्रै रकम जम्मा गर्न पाउने प्रावधान थियो। राष्ट्र बैंकका अनुसार बढाइएको सीमा असोज ३१ देखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ देखि २९ गतेसम्म लागू हुनेछ। चाडपर्वका बेला दक्षिणा तथा अन्य आर्थिक कारोबारमा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो।

दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वमा आफन्त तथा परिवारका सदस्यलाई दक्षिणा दिने चलन छ। यस्तो समयमा नगदको सट्टा डिजिटल माध्यमबाट रकम आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न सकिने पटकको संख्या बढाएको हो। केन्द्रीय बैंकले यसअघि पनि दसैं, तिहार र छठमा दक्षिणा प्रदान गर्दा डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको थियो। पछिल्लो व्यवस्थाले चाडपर्वका समयमा डिजिटल कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार