काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भएनन्। उनले समारोहमा उपस्थित नभई शुभकामना सन्देश पठाएका थिए।

प्रधानमन्त्रीको सन्देश प्रहरी महानिरीक्षक ज्ञानबहादुर कार्कीले कार्यक्रममा वाचन गरेका थिए। प्रधानमन्त्री शाहले सन्देशमार्फत नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधिको विस्तार तथा पूर्वाधार विकासमा सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रहरी संगठनलाई आधुनिक र प्रभावकारी बनाउँदै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन्। पछिल्लो समय बढ्दै गएका वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीसँगको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेट सञ्चालकलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था अघि बढाइएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
त्यस्तै, अपराध नियन्त्रण र प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्न कृत्रिम बुद्धिमत्ता (एआई), एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापना गर्ने तयारी भइरहेको पनि सन्देशमा जनाइएको छ। प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारी योजना रहेको जानकारी दिएका छन्।
‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ मनाइएको प्रहरी दिवसका अवसरमा प्रधानमन्त्रीले संगठनलाई थप सक्षम बनाउन आधुनिक तालिम, नीतिगत मार्गदर्शन, कानुनी सहजता र पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सन्देशमा उनले राष्ट्रसेवाका क्रममा हालैको भोटेकोशी–त्रिशूली विपद् तथा विभिन्न कालखण्डमा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। प्रधानमन्त्री शाहले देशमा आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका छन्। संकटपूर्ण अवस्थामा धैर्य, विवेकपूर्ण निर्णय र कुशल कार्यसम्पादनले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले प्रहरी संगठनको योगदानको सराहना गरेका हुन्।








