चितवन । नेपालमा जंगली भाले हात्तीको मृत्यु बढ्दै जाँदा तिनको प्रजनन र दीर्घकालीन संरक्षणमा चुनौती थपिएको छ। असोज महिनामा मात्रै देशका विभिन्न स्थानमा तीनवटा प्रजननयोग्य जंगली भाले हात्ती मारिएका छन्।

यस वर्ष हालसम्म मानवीय कारणबाट चारवटा जंगली भाले हात्तीको मृत्यु भइसकेको छ। २०८३ असोज ३ गते चितवन राष्ट्रिय निकुञ्जको चर्चित भाले हात्ती ‘रोनाल्डो’ वरण्डाभार क्षेत्रअन्तर्गत बीसहजारी नजिकै नेपाली सेनाको पोस्टमा लगाइएको तार चपाउँदा करेन्ट लागेर मरेको थियो। रोनाल्डोको मृत्युलाई हात्ती संरक्षण र प्रजननका दृष्टिले गम्भीर क्षतिका रूपमा हेरिएको छ। रोनाल्डोको मृत्यु भएको १५ दिनपछि, असोज १८ गते सर्लाहीको बागमती नगरपालिका–४ स्थित ब्रह्मबाबा सामुदायिक वन नजिकै परबलबारीमा अर्को जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको थियो। उक्त हात्तीको सुँढलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा शव भेटिएको थियो।
त्यसको नौ दिनपछि उदयपुरको बेलका नगरपालिकास्थित धानबारीमा ‘सानो दारे’ नामले चिनिने वयस्क जंगली भाले हात्ती मृत फेला परेको थियो। कोशी टप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको दूरीमा मृत भेटिएको उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बसोबास गर्दै आएको थियो। यसअघि २०८३ भदौ ३१ गते झापाको मेचीनगर नगरपालिका–३ स्थित तेलपानीको जंगलमा पनि एउटा जंगली भाले हात्ती मृत फेला परेको थियो। यसरी डेढ महिनाको अवधिमा चारवटा जंगली भाले हात्तीको मृत्यु भएको छ। पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार गत वर्ष मात्रै नौवटा जंगली भाले हात्ती मारिएका थिए। ‘इलिफेन्ट इकोलोजी’मा विद्यावारिधि गरेका रामले भाले हात्तीको मृत्यु बढ्दै जाँदा भविष्यमा प्रजननमा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्।
उनका अनुसार सौराहामा हात्ती प्रजनन केन्द्र सञ्चालनमा रहे पनि जंगली भाले हात्तीको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। निजी हात्तीको प्रजननमा समेत भाले हात्तीको योगदान रहने भएकाले तिनको संख्या घट्दै जाँदा प्रजनन प्रक्रिया प्रभावित हुन सक्छ। “हामीले सौराहामा प्रजनन केन्द्र त खोलेका छौँ, निजी हात्तीलाई पनि भाले हात्तीले प्रजनन गराउँछन्। मानौँ, एक दिन यी जंगली भाले हात्ती नै भएनन् भने प्रजनन केन्द्रको के अर्थ रहन्छ?” रामले प्रश्न गरेका छन्। उनका अनुसार एउटा भाले हात्तीले धेरै पोथी हात्तीसँग प्रजनन गर्न सक्ने भएकाले प्रजातिको संख्या वृद्धि र आनुवंशिक विविधता कायम राख्न तिनको भूमिका महत्त्वपूर्ण हुन्छ। पछिल्लो समय भाले हात्ती मारिने क्रम बढेकाले संरक्षणकर्मीहरूले तिनको सुरक्षाका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्। रामले पछिल्लो १५ वर्षमा मानवीय कारणबाट ५८ वटा हात्ती मारिएको जानकारी दिँदै संरक्षणका लागि जनचेतना बढाउन र कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए। उनका अनुसार जंगली जनावरले बाली नष्ट गर्दा किसानले पाउने क्षतिपूर्ति पर्याप्त नहुँदा कतिपय अवस्थामा विद्युतीय धरापजस्ता जोखिमपूर्ण उपाय अपनाउने अवस्था सिर्जना भएको छ।
“जंगली जनावरले खेती खाँदा १० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरिन्छ, तर क्षति धेरै भएको हुन्छ। त्यही १० हजार लिन पनि किसानको अरू खर्च हुन्छ,” रामले भने। उनले क्षतिको तत्काल मूल्यांकन गरी किसानलाई समयमै राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिए। किसानले वन्यजन्तुबाट हुने क्षतिलाई आर्थिक संकटका रूपमा नभई व्यवस्थापन गर्न सकिने अवस्थाका रूपमा लिन सक्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ। उनका अनुसार सम्बन्धित स्थानीय तहबाटै किसानलाई उचित राहत उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ। राहत वितरण प्रभावकारी भए वन्यजन्तुबाट हुने क्षति कम गर्न र हात्तीमाथि हुने प्रतिशोधात्मक आक्रमण रोक्न सहयोग पुग्न सक्छ। यसैबीच झापामा अर्को एक जंगली हात्ती गम्भीर घाइते अवस्थामा रहेको छ। उक्त हात्तीको जीवन रक्षा गर्न वन विभाग तथा निकुञ्जका तर्फबाट उपचारको व्यवस्था मिलाइएको छ। निकुञ्ज विभागका वरिष्ठ अनुसन्धान अधिकृत डा. गणेश पन्तका अनुसार हात्तीलाई डार्ट गरेर उपचार गर्न चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक तथा चिकित्सकको टोली पठाइएको छ।
संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार नेपालमा झन्डै दुई सयको हाराहारीमा रहेका हात्तीमध्ये प्रत्येक वर्ष ११ देखि १२ वटासम्म मारिने गरेका छन्। यही अवस्था कायम रहे भविष्यमा नेपालमा हात्तीको अस्तित्व नै संकटमा पर्न सक्ने उनको चिन्ता छ। विज्ञहरूका अनुसार तराई क्षेत्रमा बढ्दो मानवीय गतिविधि र जैविक मार्गमा हुने अवरोधले मानिस र हात्तीबीचको द्वन्द्व बढाइरहेको छ। हात्तीले आफ्नो पुर्खादेखि प्रयोग गर्दै आएको बाटो पछ्याउने भएकाले ती मार्ग अवरुद्ध हुँदा मानव बस्ती तथा खेतीबालीमा प्रवेश गर्ने सम्भावना बढ्छ। विशेषगरी लामो दूरीसम्म आवतजावत गर्दै आनुवंशिक आदानप्रदानमा योगदान पु¥याउने भाले हात्ती जोखिममा पर्ने गरेका छन्। धान पाक्ने समय नजिकिँदा खेतमा आकर्षित हुने हात्तीले बाली खान खोज्दा विद्युतीय धराप तथा विषादी प्रयोगका कारण ज्यान गुमाउने गरेको संरक्षणकर्मीहरूको भनाइ छ। डा. लामिछानेले हात्ती मारिने क्रम नरोकिए भविष्यमा नेपालमा हात्तीको अस्तित्व इतिहासमा मात्र सीमित हुने जोखिम रहेको चेतावनी दिएका छन्। विज्ञहरूले हात्तीका जैविक मार्ग संरक्षण, किसानलाई समयमै क्षतिपूर्ति, जनचेतना अभिवृद्धि तथा वन्यजन्तुविरुद्धका अवैध गतिविधिमा प्रभावकारी नियन्त्रणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।








