लहान । सिरहाको लहान नगरपालिका–२३ स्थित बलान नदीमा डुबेर बेपत्ता भएका नौ वर्षीय अभिनन्दन महतोको शव शुक्रबार फेला परेको छ। महोत्तरीको बर्दिबासबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।

लहान नगरपालिका–२३, बथनाहा तिलेबोनाका १४ वर्षीय राजु महतो र नौ वर्षीय अभिनन्दन महतो बिहीबार बलान नदीमा नुहाउने क्रममा डुबेका थिए। घटनापछि खोजी गर्ने क्रममा स्थानीय युवाले माछा मार्ने महाजालको सहायताले राजुलाई बिहीबार साँझ ५ बजे मृत अवस्थामा नदीबाट निकालेका थिए। अभिनन्दन भने बिहीबार फेला परेका थिएनन्। उनको खोजीका लागि शुक्रबार बर्दिबासबाट सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार गोताखोर टोलीले लामो खोजीपछि बालकको शव फेला पारेको हो। बलान नदीको गहिरो पानी जमेको स्थानमा गोताखोर टोलीले करिब एक घण्टासम्म खोजी गरेपछि अभिनन्दनलाई फेला पारेको थियो।
घटनास्थलमा गोताखोर टोलीसँगै पुगेका सिरहा क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्ता र लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोसमक्ष स्थानीयवासीले नदी किनारका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। स्थानीयवासीले सिरहाका बलान र कमला नदीमा वर्षेनी हुने डुबान तथा डुबेर हुने मृत्युका घटना न्यूनीकरण गर्न स्थायी रूपमा गोताखोर टोलीको व्यवस्था गर्नुपर्ने मागसमेत राखेका छन्।स्थानीयका अनुसार बलान नदीमा मात्रै एक वर्षको अवधिमा डुबेर चार जनाको मृत्यु भइसकेको छ। नदीमा हुने दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ। सांसद गुप्ताले नदीमा डुबेर हुने दुर्घटना रोक्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सिरहामा गोताखोर टोलीको व्यवस्था गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








