काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान प्रक्रिया अघि बढाउने बताएका छन्।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री तिमल्सिनाले कुनै पनि विषयलाई सरकारले दबाउन नखोज्ने स्पष्ट पारे। ‘सरकारले कुनै पनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन। आवश्यक पर्दाखेरि अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार प्रक्रिया अघि बढ्छ,’ उनले भने।
सञ्चारकर्मीहरूले सांसद सुनारसँग जोडिएको अडियो प्रकरणमा सरकारले छानबिन नगरी विषयलाई दबाउन खोजेको हो कि भन्ने प्रश्न गरेका थिए। त्यसको जवाफमा मन्त्री तिमल्सिनाले आवश्यकताअनुसार कानुनी प्रक्रिया अघि बढ्ने बताएका हुन्। सांसद सुनारले महिला हिंसा गरेको दाबीसहितको अडियो सार्वजनिक भएपछि यो विषय चर्चामा आएको छ। उक्त अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन गरिरहेको छ।








